मनाङ, १९ असोज । हिमाली जिल्ला मनाङ आउने क्रममा भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु भएको छ । मत्यु हुनेमा अमेरिकी नागरिक ६९ वर्षीय चार्ल्स केथ डेभिज रहेका छन् ।
डेभिज बुधबार श्रीमती वेथ एन फोड्रियन, पथप्रदर्शक, चालक र पोटरसहित बा६च ७५७ नम्बरको गाडीमा लमजुङबाट मनाङ सदरमुकाम चामे आउँदै गरेका थिए । बेँसीसहर–चामे सडकखण्डअन्तर्गत मनाङको नासोँ गाउँपालिका–३ खोत्रोडाँडाबाट सडकमा झरेको ढुंगा पन्छाउने क्रममा बुधबार राति उनी सडकबाट करिब १०० मिटर तल मर्स्याङ्दी नदी किनारमा खसेका मनाङका प्रहरी नायब उपरीक्षक फणिन्द्र रानाभाटले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय चामे र इलाका प्रहरी कार्यालय धारापानीबाट खटिएको प्रहरी टोलीले उनको राति नै उद्धार गरी उपचारका लागि मनाङ जिल्ला अस्पताल चामे ल्याएको थियो । उपचारकै क्रममा बिहीबार बिहान मृत्यु भएको प्रहरी नायब उपरीक्षक रानाभाटले बताए ।
डेभिजको शव परीक्षणका लागि हेलिकोप्टरमा बिहीबार त्रिवि शिक्षण अस्पताल काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।