बेपत्ता भएका एक जनाको शव फेला, दुई जना अझै बेपत्ता

35

पर्वत, १४ असोज । पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीले बगाएको जिप फेला परेको छ । कुश्मा नगरपालिका–८ को मोदी खोला र तमादी खोलाको दोभानमा हिलोमा पुरिएको अवस्थामा जिप फेला परेको हो ।

जिपसँगै एक जना यात्रु मृत भेटिएका छन् । मृतक रूपन्देहीको तिलोत्तमा नगरपालिका–९ का ३४ वर्षीय गोपालप्रसाद बस्याल रहेका छन् । जिपमा सवार रहेका अन्य दुई यात्रुको अवस्था भने अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए । बेपत्ता भएकामध्ये एक जना पोखरा नाउडाँडाका विजय भनिने माधव पौडेल रहेका र अर्का एक जनाको परिचय नखुलेको प्रहरीले जनाएको छ । बेपत्ता यात्रुको खोजी जारी छ ।

बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग१ज६२१३ नम्बरको जिप शनिबार साँझ साढे ६ बजेतिर बाढीले बगाएको थियो । खोलामा बाढीले ल्याएको ढुंगा पन्छाउने क्रममा जिप बगेको हो । सोही क्रममा जिप चालक बसन्त थापा बाढी पन्छाउन झरेका कारण ज्यान जोगाउन सफल भएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...