हेटौँडाका ७८ चिकित्सकले दिए सामूहिक राजीनामा

10

काठमाडौँ, २९ भदौ । बिरामीका आफन्तबाटै असुरक्षित रहेको भन्दै मकवानपुरको हेटौँडाका विभिन्न अस्पतालमा कार्यरत ७८ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।

बिरामीको उपचार गरिरहेका बेला हाई डिपेन्डेन्सी युनिट (एचडियू)मै चिकित्सकमाथि भएको आक्रमणले असुरक्षा बढेको भन्दै मकवानपुरका स्वास्थ्यकर्मी आन्दोलित बनेका हुन् । हेटौँडा अस्पतालका सबै ७८ चिकित्सकले कुटपिटमा संलग्नलाई कारबाही माग गर्दै सामूहिक राजीनामा दिएका हुन् । उनीहरुले शुक्रबारदेखि जिल्लामा आकस्मिकबाहेक सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।

बुधबार बिहान हेटौँडा–१ भिन्तुनापथस्थित सञ्चो अस्पतालमा चिकित्सकमाथि सांघातिक आक्रमण भएको थियो । आक्रमणमा परी एनेस्थेसिया डाक्टर प्रशान्त बिडारी र डाक्टर विकास थापा घाइते भएका छन् । बिडारीको आँखा र अनुहारमा चोट लागेको छ भने थापाको गाला र अनुहार सुन्निएको छ ।

थापा उपचारका लागि काठमाडौँ आएका छन् । डेंगुका कारण एक महिनाअघि मृत्यु भएका हेटौँडा–१२ का राजेश प्रधानका आफन्तले अस्पतालभित्र प्रवेश गरी बुधबार डाक्टरमाथि कुटपिट गरेका हुन् । साउन २२ गते सञ्चो अस्पतालमा भर्ना गरिएका प्रधानको अवस्था गम्भीर भएपछि थप उपचारका लागि भोलिपल्ट चितवन रेफर गरिएको थियो ।

प्रधानलाई दोस्रो पटक डेंगु संक्रमण पुष्टि भएको थियो भने उनी मधुमेह र उच्च रक्तचापका पनि बिरामी थिए । उनको साउन २५ गते चितवन मेडिकल कलेजमा उपचार क्रममा निधन भएको थियो । कुटपिटमा संलग्न चार जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...