खाँदबारी, २५ भदौ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले स्थानीय तहले जथाभावी लाइसेन्स वितरण गर्दा दुरूपयोग बढेको बताएका छन् ।
स्थानीय तहले राजश्व संकलनको नाममा जथाभावी लाइसेन्स वितरण गरेको उनले बताए । निर्माण व्यवसायी संघ सङ्खुवासभाको १६औँ जिल्ला अधिवेशन उद्घाटनका क्रममा उनले स्थानीय तहमा राजश्व संकलन हुन्छ भनेर निर्माणको लाइसेन्स वितरण नगर्न आग्रह गरे । साना निर्माण व्यवसायीले जिम्मा लिएको काम गर्न नसकेपछि ठुला व्यवसायीले समेत गाली खानु परेको उनले बताए ।
कतिपय स्थानीय तहमा आफन्तका नाममा पनि जबरजस्ती लाइसेन्स निकालेको उनले आरोप लगाए । सिंहले निर्माणको लाइसेन्स जारी हुनासाथ २ करोडसम्मका काम तुरून्तै पाइहाल्ने भएकाले पनि हरेक जिल्लामा लाइसेन्स लिनेको संख्या धेरै हुँदै गएको बताए ।
निर्माण व्यवसायीले काम गर्न सकेनन् भन्ने आरोप एकोहोरो लाग्ने गरेको अध्यक्ष सिंहले बताए । सरकारले काम गरेको रकम भुक्तानी नदिँदा पनि कामको गति कम भएको उनको भनाइ छ । कामको भुक्तानी समयमै भए तोकिएको समयमा निर्माण व्यवसायीले काम गर्ने उनले बताए ।
सङ्खुवासभामा मात्रै २०० बढी निर्माण व्यवसायी कार्यरत छन् । खाँदबारीमा जारी अधिवेशनले आगामी ४ वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने छ ।