काठमाडौँ, २४ भदौ । पूर्वराष्ट्रपति रामवरण यादव स्वास्थ्य उपचारका लागि वीर अस्पताल भर्ना भएका छन् ।
उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि पूर्वराष्ट्रपति यादव आज वीर अस्पतालको भिआइपी कक्षमा भर्ना भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वराष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे अस्पतालसँग जानकारी लिएका छन् । उनले पूर्वराष्ट्रपतिसँगै अस्पतालमा उपचाररत कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एकराज कार्की र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्रप्रसाद यादवलाई भेटेका छन् ।
पूर्वराष्ट्रपति यादवलाई उपचारका लागि थप केही दिन अस्पतालमा राखिने अस्पतालले जानकारी दिएको छ । “उहाँको अवस्था स्थिर छ । चिकित्सकको टोलीले थप स्वास्थ्य अवस्थाको मूल्यांकन गरिरहेको छ, त्यसैले उहाँ थप केही दिन चिकित्सकको निगरानीमा बस्नुहुन्छ,” उपकुलपति प्राडा बस्नेतले भने ।