काठमाडौँ, २० भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौँमा खुकुरी प्रहार भएको छ ।
काठमाडौँको भृकुटीमण्डपस्थित रिपोर्टर्स् क्लबको कार्यक्रमबाट बाहिरिएका यादव गाडी चढ्न लाग्दा खुकुरी प्रहार भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए ।
उनका अनुसार आक्रमण गर्ने नुवाकोटको विदुर नगरपालिका–७ बस्ने ४७ वर्षीय श्याम सापकोटालाई आक्रमणमा प्रयोग भएको हतियारसहित नियन्त्रणमा लिएको छ ।
धारिलो हतियारबाट यादवको टाउकाको पछाडिको भागमा गहिरो चोट लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
सो आक्रमणको कारण खुल्न सकेको छैन । उक्त घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालय काठमाडौँले जनाएको छ ।