बारा, ७ भदौ । बारामा तीर्थयात्री बोकेको बस दुर्घटनामा घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । योसँगै उक्त दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । तीन जनाको घटनास्थलमा तथा ४ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३–००१ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्व–पश्चिम लोकराजमार्गको चुरियामाई नजिक दुर्घटना भएको हो ।
मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित तथा भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह र ६५ वर्षीया मीरादेवी सिंह रहेको डिएसपी न्यौपानेले बताए । बाँकी ४ जनाको सनाखत हुन बाँकी छ ।
दुर्घटनामा तीन नेपाली तथा १४ भारतीय नागरिक घाइते भएका छन् । उनीहरू पशुपतिनाथको दर्शन गरी फर्किँदै थिए ।