‘तीव्र गतिकै कारण बस त्रिशूलीमा खस्यो’

45

मलेखु, ६ भदौ । काठमाडौँबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको बस तीव्र गतिकै कारण दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार बसले अगाडिको गाडी उछिन्ने क्रममा सडकको खाल्डो छलाउन खोज्दा अनियन्त्रित भई बस त्रिशूलीमा खसेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

बस खसेको स्थानको कुनापट्टि पानीको छाँगो छ । त्यहीँ छाँगोको पानी कटाउने रेलिङ बिनाको सानो पुल छ । पुल भएको नजिकै सडकमा दुई मिटर जति लम्बाइको खाल्डो छ । पुल र छहराले गर्दा त्यो स्थानबाट दोहोरो सवारी पास हुन हम्मेहम्मे छ ।

प्रहरी उपरीक्षक गौतम भन्छन्, “कि त अगाडिको गाडी उछिन्ने क्रममा अनियन्त्रित भयो कि खाल्डो छलाउन खोज्दा चालक आत्तिएर बस अनियन्त्रित भयो । सडक र चालककै कमजोरीले दुर्घटना भएको हुनसक्छ ।”

रेलिङ बिनाको पुलबाट खसेको बस पहिलोपटक ढुंगाको पहारामा बजारिएर दोस्रो पटकमा मात्रै त्रिशूली नदीमा खसेको देखिन्छ ।

काठमाडौँबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ख ९९५२ नम्बरको बस बुधबार बिहान धादिङको गजुरी–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको थियो ।

दुर्घटनामा दुई महिलासहित ८ जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । एक जना बेपत्ता भएको आशंकामा खोजीकार्य जारी छ ।

Share This:
सम्बन्धित खबर
Loading...