मलेखु, ६ भदौ । धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराको बस दुर्घटनामा मृत्यु हुनेमध्ये ४ जनाको सनाखत भएको छ ।
सनाखत हुनेमा म्याग्दी रघुगंगा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी–१ की १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङ गजुरी–८ का अन्दाजी २० वर्षीय शुशील रम्तेल र कास्की फूलबारी–११ का अन्दाजी २४ वर्षीय सुमन थापा छन् ।
दुई महिलासहित ६ जना पुरूषको दुर्घटनास्थलमै मृत्यु भएको छ । मृतक एकजना महिला र ३ जना पुरूषको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
सहचालक रोशन तामाङका अनुसार १९ जनाले काउन्टरबाट र २ जनाले ‘ई सेवा’बाट टिकट लिएका थिए । कलंकीबाट २ जना र धादिङको आदमघाटबाट २ जना पुरूष बसमा चढेका सहचालक तामाङले बताए । उनी सकुशल रहेका छन् ।
काठमाडौँबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ख ९९५२ नम्बरको बस अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो ।
१३ जनाको उपचारका लागि काठमाडौँ पठाइएको छ । एक जनाको राजमार्ग अस्पताल मलेखु र एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ । सहचालक र बागलुङ गलकोटीकी ज्ञानु बुढामगर सामान्य छन् ।
बस नदीमा डुबेकाले गोताखोरको टोलीले एक जना यात्रु हराइरहेको आशंकामा खोजी जारी राखेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । विपरीत दिशातर्फ बस खसेकाले साँघुरो सडकमा आभरटेक गर्ने क्रममा अनियन्त्रित भएको अनुमान छ ।