कैदीबन्दी मृत्यु प्रकरण : असई चौधरी पक्राउ, ५ दिन हिरासतमा राख्न अनुमति

411

खाँदबारी, २९ साउन । सङ्खुवासभाको कारागारभित्र दुई कैदीबन्दीको हत्या प्रकरणमा पक्राउ परेका प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरीलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

आइतबार जिल्ला प्रहरी कार्यालयले उनलाई पक्राउ गरी जिल्ला अदालत सङ्खुवासभाबाट ५ दिन हिरासतमा राख्ने अनुमति लिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रवक्ता प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए ।

शनिबार जिल्ला प्रहरी कार्यालय सङ्खुवासभामा कारागार प्रमुख (जेलर) राजेन्द्र घिमिरे र असई लक्ष्मी चौधरीविरूद्ध जाहेरी परेको थियो । उक्त जाहेरी परेपछि प्रहरीले जेलर घिमिरे र चौधरीविरूद्ध अदालतबाट पक्राउ अनुमति लिएको छ । प्रहरीले जेलर घिमिरेलाई भने पक्राउ गरिसकेको छैन । यस घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नताबारे अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।

गत बुधबार बिहान खाँदबारी नगरपालिका–१ मा रहेको कारागार कार्यालय सङ्खुवासभामा रहेका मादी नगरपालिका–५ फेलेदै बस्ने २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–९ का २७ वर्षीय विकास श्रेष्ठ भन्ने आकाश बलामी अचेत अवस्थामा फेला परेका थिए । उनीहरूको उपचारका लागि जिल्ला अस्पताल खाँदबारी लगिएको थियो । उपचारको क्रममा दुवै जनाको मृत्यु भएको थियो ।

उनीहरू दुवै जनाले राति सवा १ बजे कारागारबाट भाग्ने प्रयास गरेका थिए । आफू बस्ने तल्लो तलाको ब्लकको झ्यालको रड काटेर भग्दै गर्दा ड्युटीमा खटिएका प्रहरीले देखेपछि कराएर सबैजनालाई जानकारी गराएका थिए ।

प्रहरी कर्मचारीहरूले नियन्त्रणमा लिने क्रममा उनीहरू दुवै जनामाथि कुटपिटसमेत भएको प्रहरी निरीक्षक खनालले बताए ।

प्रहरीले उनीहरू बस्ने ब्लकमा बुझाइएको थियो । तर, त्यहाँ पनि अन्य कैदीबन्दीहरूले उनीहरूमाथि कुटपिट गरेका थिए । त्यसपछि बिहान अचेत फेला परेका उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस राति ड्युटीमा खटिएका असई लक्ष्मी चौधरी र कारागार प्रमुख घिमिरेको पनि संलग्नता भएको भन्दै पीडित परिवारले किटानी जाहेरी दिएका हुन् ।

मृतकहरू दुवै जनाको पोष्टमार्टम सकिसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...