निजी विमान कम्पनीको भाडादरमा मनोमानी

81

खाँदबारी, २२ साउन । सङ्खुवासभाको तुम्लिङटार विमानस्थल देशकै पहाडी जिल्लाको कालोपत्र गरिएको लामो विमानस्थल हो । नेपाल नागरिक उड्यन प्राधिकरणले तुम्लिङटार विमानस्थलमा जेट इन्जिन भएका निजी र सरकारी विमान कम्पनीलाई उडान भर्न अनुमति दिएको छ । ठुला जहाज भएका विमान कम्पनीले जहाज ल्याउन आनाकानी गरेपछि हवाई भाडा आकाशिएको छ ।

१५ सय मिटर लामो विमानस्थलको उचाइ समुन्द्री सतहबाट ४५७ मिटर छ । धावनमार्ग कालोपत्र गर्ने काम सकिएपछि करिब ३ वर्षअघि नेपाल नागरिक उड्डयन कार्यालयले कोशी प्रदेशको व्यस्त मानिने यो विमानस्थलमा ठुला जहाजलाई उडान अनुमति दियो । तर, एउटामात्रै विमान कम्पनीले दैनिक उडान भर्दा भाडादरमा भने मानोमानी बढेको छ । अहिले बुद्धको ७२ सिटे विमानले मात्रै उडान भर्दै आएको छ । तुम्लिङटार–काठमाडौँ भाडादर ७ हजार २०० छ ।

यो विमानस्थल विराटनगर विमानस्थलभन्दा सय मिटरमात्रै सानो छ । निजी विमान कम्पनीबीच प्रतिस्पर्धा नहुँदा हवाई भाडामा मनोमानी बढेको यात्रुले गुनासो गरेका छन् । निजी विमान कम्पनी सेवामूलकभन्दा पनि नाफामूलक भएको यात्रुको गुनासो छ ।

प्रतिस्पर्धा गर्ने अरू विमान कम्पनी नहुँदा एकलौटी रूपमा उडान भर्दै आएको बुद्ध एयरले टिकटको मूल्य घटाएको छैन । गाडीबाट यात्रा गर्दा समयमा नपुगिने भएकाले भाडा महँगो भए पनि हवाई सेवा रोज्न बाध्य बनेको यात्रुको भनाइ छ । सुविधा सम्पन्न बनेको तुम्लिङटार विमानस्थलमा अन्य एयरलाइन्स कम्पनीहरूले पनि उडान भर्नुपर्ने स्थानीय बासिन्दाले माग गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...