प्रधानमन्त्री कार्यालयलाई स्मार्ट बनाउनै पर्छ : प्रधानमन्त्री प्रचण्ड

22

काठमाडौँ, १९ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री कार्यालयलाई स्मार्ट र ‘सेन्टर अफ एक्सिलेन्स’का रूपमा विकास गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री कार्यालयलाई स्मार्ट बनाउन लागिपरेको बताए ।

उनले भने, “अहिले म प्रधानमन्त्री भएर आएको सात महिना बितिसकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय देशको सर्वोच्च कार्यकारी कार्यालय हो । यहाँबाट हुने कार्यसम्पादनको प्रतिबिम्बले सिंगो देशको कार्यप्रगति र सरकारको प्रतिबिम्ब झल्कन्छ । त्यसैले हामी स्मार्ट र सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास हुन जरूरी छ । प्रधानमन्त्री कार्यालय जगेडा कर्मचारी थन्काउने थलो भनेर जसरी बिम्ब स्थापना गर्न खोजिएको छ, त्यसलाई चिर्न पनि जरूरी छ ।”

प्रधानमन्त्री प्रचण्डले हरेक वर्ष लक्ष्यअनुरूपको परिणाम हासिल नहुनुका मूल कारण पत्ता नलगाइ तदर्थवादी ढंगले हामीले लक्ष्य हासिल गर्न नसकिने बताए । निर्धारण गरिएका लक्ष्यअनुसारका योजनालाई किन समयमै गर्न सक्दैनौँ भनी प्रश्न गर्द ै प्रधानमन्त्री प्रचण्डले गम्भीरतापूर्वक सोच्न जरूरी रहेको उल्लेख गरे ।

आफू प्रधानमन्त्री नियुक्त भएपछि गरेका निर्णय तथा निर्देशन अझै प्रभावकारी कार्यान्वयन हुन नसकेकामा आपत्ति प्रकट गर्दै उनले निर्णय हुने तर कार्यान्वयन नहुने परिपाटीबाट मुक्त हुने कि नहुने यो विषय नै आजको मुख्य प्रश्न रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले मन्त्री, मुख्यसचिव, सचिव, विभागीय प्रमुख, परियोजना प्रमुखसँगको कार्यसम्पादन करार गर्ने र कार्यसम्पादन रिपोर्ट कार्डसम्बन्धी कार्यलाई शीघ्र अगाडि बढाइने उल्लेख गरे । कार्यसम्पादन करार गर्दा परिणाम, प्रभाव र लक्ष्य मापन गर्न सकिने र कार्यसम्पादन मूल्यांकनसँग आवद्ध गर्न सकिने तवरले तयारी गर्नु पनि प्रधानमन्त्री प्रचण्डले निर्देशन दिए ।

Share This:
सम्बन्धित खबर
Loading...