प्रति विद्यार्थी एक लाख रूपैयाँ लिएर त्रिविको प्रश्नपत्र आउट, अख्तियारमा उजुरी दर्ता

202

काठमाडौँ, १३ साउन । त्रिभुवन विश्वविद्यालय, राजनीतिशास्त्र विषयको एमफिल पिएचडी तथा एमए पहिलो र तेस्रो सेमेस्टरको प्रश्नपत्र परीक्षा हुनु एक साताअघि नै बाहिरिएको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।

सी–००३९३७ मा उजुरी दर्ता भएको छ । मानविकी तथा सामाजिक शास्त्र संकाय डिनको कार्यालयले सञ्चालन गर्ने अन्तिम तहको परीक्षा यही साउन १७ देखि सुरु भइ भदौको दोस्रो सातासम्म चल्ने कार्यक्रम छ ।

उजुरी राजनीतिशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख सहप्राध्यापक डा.इश्वरीप्रसाद कँडेल र प्रशासन प्रमुख हरेराम रिजालले प्रति विद्यार्थी एक लाख लिइ एमफिल पिएचडी तथा स्नातकोत्तर तह पहिलो र तेस्रो सेमेस्टरको प्रश्नपत्र विद्यार्थीहरुलाई परीक्षा अगावै चुहावट गरे भन्दै तत्काल पक्राउ गरी छानबिन गर्न माग गरिएको छ ।

राजनीतिशास्त्र केन्द्रीय विभागमा एमए तेस्रो सेमेष्टरकी एक छात्रालाई गोल्डमेडलिष्ट बनाउने भनी विभागीय प्रमुखबाट प्रश्नपत्रको पूरै सेट साउन ११ गते उपलब्ध गराइसकेको उजुरीमा उल्लेख गरिएको छ ।

उजुरीमा विभागीय प्रमुख कँडेल र प्रशासन प्रमुख रिजालले विभागमै प्रश्नपत्र भण्डारण गरी सोको प्रति आफूहरुसँग राखी विद्यार्थीहरुसँग आर्थिक मोलमोलाइ गर्ने गरेको, मानविकी तथा सामाजिक शास्त्र संकायका सहायक डिन प्राध्यापक डा. ताराप्रसाद भुसाल आफू परीक्षा समितिको अध्यक्षसमेत भएकाले कोही कसैले केही गर्न नसक्ने भन्दै अख्तियारविपरीत प्रश्नपत्रको गोपनीयता उल्लंघन गर्ने कार्य गरेको उल्लेख छ ।

उजुरीमा रत्नराज्यलक्ष्मी क्याम्पसका विद्यार्थीहरुले आयोगका प्रमुख आयुक्तलाई सम्बोधन गरी दर्ता गराएका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...