सुन तस्करी प्रकरण : पक्राउ ४ जनालाई अनुसन्धान गर्न नौ दिने म्याद थप

213

काठमाडौँ, ६ साउन । एक सय किलो सुन तस्करीको आरोपमा पक्राउ गरेका चिनियाँ नागरिकसहित चार जनामाथि अनुसन्धान गर्न नौ दिनको म्याद थपिएको छ ।

आरोपी चार जनालाई शुक्रबार उच्च अदालत पाटनमा पेस गरिएकोमा अदालतको आदेशले उनीहरूमाथि अनुसन्धान गर्न नौ दिनको म्याद पाएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए ।

यसरी म्याद थप गरिएकामा चिनियाँ नागरिक जेयुङ लिनसहित कार्गो कम्पनीका सञ्चालक राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट रहेका छन् । उनीहरूलाई बिहीबार दिउँसो पक्राउ गरिएकाले म्याद थप गर्न सकिएको थिएन ।

यसअघि बुधबार पक्राउ गरेका छ जना (सुन ओसारपसारमा संलग्न गराइएको ट्याक्सीका चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलिप भुजेल, सहयोगी हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल)माथि अनुसन्धान गर्न १० दिनको म्याद थप गरिसकिएको छ ।

भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बुधबार राति हङकङबाट ल्याइएको झन्डै एक सय किलो सुन बरामद गरेको थियो ।

सुन अहिले परीक्षण तथा तौल लिनका लागि राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको छ । विभागका अनुसार विभागका निर्देशकको संयोजकत्वमा टोली बनाएर उक्त प्रकरणको अहिले अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार
सुन तस्करी प्रकरणमा एक चिनियाँ नागरिक पक्राउ

सुन तस्करी प्रकरण : अनुसन्धान गर्न १० दिनको म्याद थप

सुन तस्करी प्रकरणमा थप ३ जना पक्राउ

Share This:
सम्बन्धित खबर
Loading...