आफूसँग भएको ज्ञान र सीप स्वदेशकै विकासमा प्रयोग गरौँ : शिक्षा राज्यमन्त्री

33

काठमाडौँ, २८ असार । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले आफूसँग भएका ज्ञान र सीप स्वदेशकै विकासका लागि प्रयोग गर्न अनुरोध गरेकी छन् ।

पाटन कलेज फर प्रोफेसनल स्टडीजको दीक्षान्त समारोहमा बोल्दै उनले पछिल्लो समय युवा पलायन दर बढ्दै गएकाले यसलाई रोक्न जरूरी रहेको बताइन् ।

नेपालमा भएका अवसरको पहिचान गर्न र मुलुकप्रति योगदान गर्न युवापुस्तालाई उनले अनुरोधसमेत गरिन् । राज्यमन्त्री कुमारीले सरकार रोजगारीको अवसर सिर्जना गर्न दत्तचित्त भएर लागिपरेको उल्लेख गरिन् ।

उनले कलेजले बहन गर्ने सामाजिक उत्तरदायित्वको उच्च प्रशंसा गर्दै सरकारले गर्नुपर्ने कार्यहरुमा कलेजको समन्वयलाई लिएर धन्यवाद दिइन् । नेपालको पहिलो आइटी कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको अभिन्न अंग पाटन कलेज फर प्रोफेसनल स्टडिजले हरेक प्रदेशबाट छानिएर आउने विद्यार्थीहरूलाई छात्रवृत्ति दिँदै आएको छ ।

दीक्षान्त समारोहमा बोल्दै नेपाल ब्रिटेन चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेन्द्र खेतानले आफ्नो शिक्षाले देशमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने जिम्मेवारी बोध गर्न आग्रह गरे ।

क्याम्पसका अध्यक्ष इञ्जिनियर पंकज जलानले सरकार तथा निजी शैक्षिक संस्थाले देशको शैक्षिक क्षेत्रको विकासका लागि सहकार्य गर्नुपर्नेमा जोड दिए । उनले दीक्षित विद्यार्थीहरुलाई बधाई दिँदै उनीहरुको उज्ज्वल भविष्यको कामना गरे ।

उक्त दीक्षान्त समारोहमा क्याम्पसका बिएससी कम्प्युटर साइन्स एन्ड सफ्टवेयर इञ्जिनियरिङ र बिबिए अध्ययन गरेका ६८ विद्यार्थी दीक्षित भएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...