काठमाडौँ, १६ असार । सभामुख देवराज घिमिरेले संसद्मा उपस्थित सबै राजनीतिक दल र सदस्यबाट असल संवैधानिक र संसदीय अभ्यासको अपेक्षा गरेका छन् ।
‘संसद् दिवस–२०८०’को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै बहुदलीय व्यवस्थामा राजनीतिक दलहरू नै संवैधानिक र संसदीय अभ्यासका असली सञ्चालक भएको हुनाले राजनीतिक दलहरूको आपसी सद्भाव, सहमति र समन्वयमा नै संसद्को गतिशीलता र क्रियाशीलता निर्भर रहने उल्लेख गरेका छन् ।
उनले संसद् दिवसले संघीय संसद्का सदस्यहरू, संविधानसभा सदस्यहरू, पूर्वसांसद, संसद् सचिवालयलगायत राष्ट्रसेवक कर्मचारी वर्ग एवम् आम नेपाली जनतामा संसदीय लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि प्रेरणा मिलोस् भन्ने कामनसमेत गरेका छन् ।
संसद् दिवसका अवसरमा मुलुकमा लोतकन्त्रको स्थापना र पुनःस्थापनाका लागि विगतमा पटक–पटक गरिएका लोकतान्त्रिक आन्दोलनमा आफ्नो प्राणको आहुनी दिने सम्पूर्ण ज्ञात अज्ञात वीर सहिदहरूप्रति श्रद्धा अर्पण गर्दै उनले उनीहरूको समर्पण, साहस र बलिदानको स्मरण गर्दै संसद् जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्थाको रूपमा अविच्छन्न स्थापित गर्न प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।
नेपालमा विसं २०१६ असार १६ गते संसद्को पहिलो बैठक बसेको ऐतिहासिक दिनको स्मरण गर्दै बर्सेनी संसद् दिवस मनाइँदै आएको छ ।