नेपाल कृषिप्रधान देश भएकैले ५ महिना नाकाबन्दी हुँदा पनि टिक्यो : ओली

53

चितवन, १५ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कृषिप्रधान देश भएकै कारण नाकाबन्दीले पनि गलाउन नसकेको बताएका छन् ।

धान दिवसका अवसरमा शुक्रबार भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूलाई खान पुग्ने खाद्यान्न स्वदेशमै उत्पादन हुने भएकाले ५ महिनासम्मको नाकाबन्दीले पनि मुलुकलाई गलाउन नसकेको बताए ।

“हामीलाई पाँच महिना नाकाबन्दी लाग्यो, पाँच महिना नाकाबन्दी लाग्दा पनि नेपाल किन टिक्यो भने यो देश कृषिप्रधान देश हो, कृषिप्रधान देश भएको हुनाले नाकाबन्दीजस्तो चिजमा पनि, जो हामी प्रायः सबै चिज बाहिरबाट ल्याउँछौँ । हामीलाई खान पुग्ने झन्दै झन्डै अन्न यहीँ उत्पादन हुन्छ,” उनले भने, “यो भएको हुनाले हामीलाई नाकाबन्दीले पनि गलाउन सकेन ।”

उत्पादनलाई प्रविधिसँग जोड्न जरूरी रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले राष्ट्रिय अन्न धानको उत्पादन गुणात्मक किसिमले वृद्धि गर्नुपर्नेमा जोड दिए ।

कृषि विश्वविद्यालयले कृषि प्रविधिलाई समयसापेक्ष अनुसन्धान गरी जनतासम्म पुर्‍याउनुपर्ने उनको भनाइ थियो । “कृषिलाई आत्मनिर्भर बनाउने कुरामा विश्वविद्यालय लाग्नुपर्छ,” उनले भने ।

उत्पादन बिक्री नभएर फाल्नुपर्ने स्थिति नआउनका लागि विविधिकरण गर्नुपर्ने उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...