हलेसीको ब्रान्डिङ गर्न सरकार लागिपरेको छ : मन्त्री किराती

147

खोटाङ, २५ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले खोटाङको त्रिधार्मिकस्थल हलेसीको चौतर्फी विकास गर्न सरकार लागिपरेको बताएका छन् ।

हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको संगमस्थल हलेसीको चौतर्फी विकास तथा प्रवर्द्धनका लागि सरकारले यस आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममा नै समावेश गरेर अगाडि बढाएको उनले जानकारी दिए ।

मन्त्री किरातीले हलेसी खोटाङ जिल्लाको मात्र नभइ पूर्वी नेपालकै सम्भावना बोकेको त्रिधार्मिकस्थल भएकाले यसका चौतर्फी विकासका लागि झापाको काँकडभिट्टादेखि योजना बनाएर अगाडि बढाउनुपर्ने बताए ।

पर्यटकीय क्षेत्रको अनुगमन भ्रमणका लागि बुधबार खोटाङ आएका मन्त्री किरातीले त्रिधार्मिकस्थल हलेसीको चौतर्फी विकासका लागि ब्रान्डिङ गर्नुपर्नेमा जोड दिए । उनले हलेसी र किरात समुदायको उद्‌गमस्थल तुवाचुङको प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको पनि जानकारी दिए ।

हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको भेटघाट कार्यक्रममा हलेसी विकास समितिका अध्यक्ष एवम् पूर्वसांसद टंक राईले त्रिधार्मिकस्थल हलेसीको विकासले खोटाङको मात्र नभई मुलुकै आर्थिक समृद्धिमा टेवा पुग्ने मन्त्री किरातीलाई जानकारी गराए ।

नगरप्रमुख विमला राईले मन्त्री किरातीलाई स्वागत गर्दै यस क्षेत्रको त्रिधार्मिकस्थल हलेसीको समग्र विकासका लागि आवश्यक पहल गरिदिन आग्रह गरिन् । उनले हलेसीमै बुनिएको खाँडीको कपडा चिनोस्वरूप मन्त्री किरातीलाई प्रदान गर्दै स्थानीय उत्पादनमा समेत नगर लागेको जानकारी गराइन् ।

Share This:
सम्बन्धित खबर
Loading...