सरकारी वकिलको दाबी : टोपबहादुर पनि प्रमुख योजनाकार

नक्कली शरणार्थी प्रकरण

60

काठमाडौँ, १० जेठ । सरकारी वकिलको कार्यालय काठमाडौँले पूर्वउपप्रधानमन्त्री एवम् सांसद टोपबहादुर रायमाझीलाई नक्कली भुटानी शरणार्थी प्रकरणको मुख्य योजनाकारमध्येका एक रहेको दाबी गरेको छ ।

सरकारी वकिलको कार्यालयले बुधबार जिल्ला अदालत काठमाडौँमा पेस गरेको अभियोगपत्रमा नक्कली शरणार्थी प्रकरणमा रायमाझीको अनेक भूमिका देखिएको उल्लेख छ । नक्कली भुटानी शरणार्थीहरूलाई विदेश पठाउनकै लागि उनले शरणार्थी नेता टेकनाथ रिजाललाई भेटेर सहयोग प्रस्ताव गरेको, योजना बनाएर बारम्बार मिटिङ र छलफल गरेको, बाबुछोराले रकम बुझेको, गृहमन्त्रालयभित्र यसै विषयमा भएको झैझगडा मिलाएको अनि गृहमन्त्रालयमा रहेको प्रतिवेदन साटफेरमा भूमिका खेलेको अभियोगपत्रमा उल्लेख छ ।

रायमाझीमाथि गिरोह बनाएर नेपालीलाई नक्कली शरणार्थी बनाउन खोजेको र त्यसक्रममा शरणार्थी नेता रिजाललाई भेटेको आरोप छ । अभियोगपत्रमा भनिएको छ, “सानु भण्डारी र केशवप्रसाद दुलालले टेकनाथ रिजाललाई रायमाझीको घरमा ल्याई भेट गराउँदा उनले भुटानी शरणार्थीहरूलाई अमेरिका पठाउँदा नेपालीहरूलाई पनि भुटानी बनाइ अमेरिका पठाउने आफ्नो योजना रहेको र त्यस काममा सहयोग गरिदिन अनुरोध गरेको भन्ने टेकनाथ रिजालको बयानमा खुलेको…।”

नेपालीलाई नक्कली शरणार्थी बनाउन सन्देश शर्मा, सानु भण्डारी र केशवप्रसाद दुलाललगायतले ललितपुरको बखुण्डोलस्थित टंक गुरूङको रेष्टुरेन्टमा बारम्बार छलफल र मिटिङ गरेको भन्दै त्यसलाई पनि अपराधमा संलग्नताको आधार बनाइएको छ ।

रायमाझीले सानु भण्डारीबाट एक करोड ६० लाख रूपैयाँ नगद बुझेको र छोरा सन्दीपले बैंक खातामा ४० लाख रूपैयाँ लिएको अभियोगपत्रमा उल्लेख छ ।

रायमाझीले बयानका क्रममा गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राईको कार्यकक्षमा सानु भण्डारी र केशव दुलालबीच लेनदेनको विषयमा भनाभन र हातपात हुँदा आफूले छुट्याएको बताएका थिए । प्रहरीले त्यो घटनालाई अपराधमा संलग्नता पुष्टि हुने आधारको रूपमा चित्रित गरेको छ ।

प्रहरीले सानु भण्डारीको घरबाट डायरी बरामद गरेको थियो । डायरीमा टोपबहादुर रायमाझीसहित विभिन्न नेता र व्यक्तिहरूको नाममा दिएको रकमको विवरण खुलाइएको छ । रायमाझीलाई उनले ‘टोपबहादुर मामा’ भनी संकेत गरेका थिए ।

प्रहरीले उनी योजनाकारमध्येका एक रहेको भन्दै पीडितबाट रकम उठाउन आरोपितहरूलाई परिचालन गर्ने र माथिल्लो तहमा चलखेल गरी काम अघि बढाउन खोजेको आरोप लगाएको छ ।

गृह मन्त्रालयले पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपाय पहिल्याउन कार्यदल गठन गरेको थियो । त्यो प्रतिवेदनमा ४२९ जना छुट भुटानी शरणार्थी भनी नाम उल्लेख भएकोमा रायमाझीलगायतको समूहले नक्कली नाम थपेको आरोपपत्रमा उल्लेख छ ।

अभियोग पत्रमा भनिएको छ, “टोपबहादुर रायमाझीले नेपालीलाई भुटानी शरणार्थी बनाइ अमेरिका पठाइदिने समूहमा आबद्ध भई नक्कली प्रतिवेदन, गृह मन्त्रालयका पत्रहरूका आधारमा विश्वास दिलाई करोडौँ रकम उठाउन लगाई पीडितहरूलाई हानी नोक्सानी पुर्‍याई ठगीको कसुर गरेको पुष्टि हुन आयो ।”

Share This:
सम्बन्धित खबर
Loading...