काठमाडौँ, १० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पसंख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ रहेको बताएका छन् ।
नेपाल कुमाल सुधार समितिका अध्यक्ष तेजबहादुर कुमालको नेतृत्वमा आएको प्रतिनिधि मण्डलसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्ड आफू कुमाल समुदायसहित नेपालका सबै अल्पसंख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारको पक्षमा रहेको बताए ।
“म कुमाल समुदायसहित नेपालका सबै अल्पसंख्यक सिमान्तकृत समुदायको पहिचान र अधिकारको पक्षमा छु।.,” उनले भने, “सानो संख्यामा रहेपनि नेपालको सामाजिक र राजनैतिक परिवर्तनमा कुमाल समुदायको महत्वपूर्ण भूमिका रहेको छ । यो समुदायको इतिहास, संस्कृति र महत्व धेरै ठुलो छ ।”
उहाँले सबै अल्पसंख्यक सीमान्तकृत समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन आफूले विगतदेखि नै संघर्ष गरेको उल्लेख गर्दै ती समुदायको विकास, समृद्धि, हित र मुद्दाप्रति सरकार दृढ रहेको बताए ।
प्रधामन्त्रीसँगको भेटमा संविधानसभा सदस्य ज्ञानेन्द्र कुमाल, कुमाल मुक्ति मोर्चाका अध्यक्ष कञ्चनकुमाल, आदिवासी जनजाति महासंघका उपाध्यक्ष श्रुति कुमाललगायतको उपस्थिति रहेको थियो ।