काठमाडौँ, १० जेठ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरू गर्ने भएको छ । सो अवसरमा निमगले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर १२ हजार ७ सय रूपैयाँ कायम गरेको छ । यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो ।
“नेपाल एयरलाइन्सले भैरहवा–मलेसियन र मलेसिया–भैरहवा–काठमाडौँ रूटमा यही जेठ २९ देखि उडान सुरू गर्दै छ । सो अवसरमा मलेसिया–भैरहवा–काठमाडौँका लागि अत्यन्तै सस्तो शुल्कमा टिकट उपलब्ध गराएका छौँ,” निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
उनका अनुसार मलेसिया–भैरहवाका लागि १२ हजार ७ सय र मलेसिया–भैरहवा–काठमाडौँका लागि १४ हजार ७२० भाडादर कायम गरिएको छ । निगमले मलेसियाको जोहोरबारूबाट क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलसम्म आवतजावत गर्न निकट भविष्यमै सटल बस (यात्रु ओसारपसार गर्ने बस) को व्यवस्था गर्ने उनको भनाइ छ ।
निगमको उडान तालिकाअनुसार टिकट बुकिङ खुला भइसकेको छ । भैरहवाबाट हाल निगमले साताको एक उडानबाट सुरू गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार अन्य गन्तव्यमा समेत उडान गर्ने छ ।
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान तदारूकताका साथ गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा निगम व्यवस्थापनले विशेष पहल गरी उडान सुरू गर्ने निर्णय गरेको निगमले जनाएको छ ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितको टोलीले हालै गरेको मलेसिया भ्रमणमा सिभिल एभिएसन अथोरिटी मलेसियाका निर्देशकसँग मलेसियाबाट भैरहवा नियमित उडानसम्बन्धी विविध पक्षमा छलफल गरेको निगमले उल्लेख गरेको छ ।