खाँदबारी, २ वैशाख । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलको धावनमार्गको स्तरोन्नति भएसँगै बुद्ध एयरको एटिआर ७२ सिटको जहाजले दैनिक उडान भर्न थालेको छ ।
तुम्लिङटार विमानस्थलमा पहिलो पटक बुद्ध एयरको एटिआर ७२ सिटे जहाजले उडान सुरु गरेको छ । तुम्लिङटार विमानस्थलको स्तरोन्नति भएसँगै बुद्ध एयरको एटिआर ७२ सिटको जहाजले मंगलबारदेखि दैनिकरूपमा काठमाडौँ–तुम्लिङटार–काठमाडौँ उडान भर्न थालेको नागरिक उड्डयनको कार्यालय तुम्लिङटारले जनाएको छ ।
विसं २०२८ मा स्थापना भएको हिमाली जिल्ला तुम्लिङटार विमानस्थल ५२ वर्षपछि ७२ सिट क्षमताको ठूलो जहाजले उडान भर्न थालेको हो । बुद्ध एयरले तुम्लिङटार विमानस्थलमा उडानका लागि परीक्षण उडान गरेको थियो । बुद्ध एयरको ७२ सिटको जहाजले उडान भर्न थालेपछि बिरामी र वृद्धवृद्धाले खुसी व्यक्त गरेका छन् । निजी क्षेत्रको सेवा प्रदायक कम्पनी बुद्ध एयरले एटीआर ७२ सिट क्षमताको जहाजले सेवा विस्तार गरेपछि खुसी व्यक्त गरेका हुन् ।
पहाडी भेगका विमानस्थलमध्ये अहिले तुम्लिङटार नियमित र निर्वाध उडान भइरहेको विमानस्थल हो । तुम्लिङटार विमानस्थल पहाडी जिल्लाको सबैभन्दा बढी यात्रु भिडभाड हुने गर्दछ । यस विमानस्थलमा यात्रुको चाप बढेपछि ७२ सिटे एटिआर जहाजले सेवा विस्तार बुद्ध एयर तुम्लिङटारका स्टेसन म्यानेजर राम लुइँटेलले बताए ।
विश्वकै पाँचौँ अग्लो हिमाल मकालु, अरुण तेस्रो जलविद्युत् आयोजना, पर्यटकका लागि छोटो दुरीको उडानका कारण यसअघि जहाजको टिकट पाउन समस्या भएको छ । तुम्लिङटार विमानस्थल धावनमार्गको लम्बाइ एक हजार ४२० मिटर लामो रहेको छ । ७२ सिटे जहाजबाट उक्त विमानस्थलमा उडान गर्दा जहाजको सञ्चालन खर्च कम हुने र बढी यात्रु बोक्दा हवाई भाडामा कमी आउने अपेक्षा गरिएको छ ।
तुम्लिङटार–काठमाडौँको भाडादर सात पाँच हजार ६५० भाडा रहेको छ । ठुलो जहाजबाट उडान सुरु भएसँगै भाडादर घट्ने अनुमान गरिएको छ ।