नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणको बयान सकियो

197

काठमाडौँ, १ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान सकिएको छ । सोमबार बिहान उनलाई बयानका लागि जिल्ला सरकारी कार्यालयमा उपस्थित गराइएको थियो ।

काठमाडौँ प्रहरी परिसर टेकुको हिरासतमा रहेका खाणलाई बयान गराउन सरकारी वकिल कार्यालयमा लगिएको थियो । यसअघि आइतबार खाणका निजी सचिव नरेन्द्र केसी र पूर्वगृहसचिव टेकनारायण पाण्डेको बयान लिइएको थियो । उनीहरूको बयान सकिएपछि खाणको बयान लिइएको हो । हालसम्म खाणअघि पक्राउ परेका ११ जनाको बयान सकिएको छ ।

शरणार्थी प्रकरणमा पक्राउ परेका खाणसहित १२ जनालाई आइतबार थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालतले अनुमति दिएको थियो ।

यसैबीच शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आइतबार राति पक्राउ परेका छन् । रायमाझीसहित यस प्रकरणमा हालसम्म १३ जना पक्राउ परेका छन् ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहविरूद्ध प्रहरीमा उजुरी परेपछि गत चैत १२ गते प्रहरीले ३ जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो । पक्राउ परेकाहरूको बयानको आधारमा धमाधम उच्चपदस्थ व्यक्ति पक्राउ पर्न थालेका हुन् ।

आइतबार मात्रै प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक र नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

अहिलेसम्म नक्कली शरणार्थी प्रकरणमा १०६ जनाका तर्फबाट करिब २४ करोड रूपैयाँ ठगी भएको भन्दै उजुरी परेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...