काठमाडौँ, १ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा परेर फरार रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।
प्रहरीले उनलाई काठमाडौँको बूढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।
नेकपा (एमाले)का नेता रायमाझीलाई प्रहरीले पक्राउ पुर्जी जारी गरी खोजीको सूचीमा राखेको थियो ।
उपरीक्षक कार्कीले भने, “हाम्रो टोलीले उहाँलाई बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिसकेको छ ।” उनीविरुद्ध जिल्ला अदालत काठमाडौँले यही वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउ पुर्जी जारी भएदेखि नै रायमाझी फरार रहेको प्रहरीले जनाएको छ । सोही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने यही वैशाख २० गते नै पक्राउ गरेको थियो ।