काठमाडौँ, ३१ वैशाख । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरिएको प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीकविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत काठमाडौँले उनलाई पक्राउ पुर्जी दिएको स्रोतले बतायो । बुबा गृहमन्त्री भएका बेला प्रतीकले मानव बेचबिखन गिरोहबाट आर्थिक लाभ लिएर अनुचित कार्य गरेको प्रहरीले प्रमाण जुटाएकाले पक्राउ पुर्जी जारी गरिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्चपदस्थहरू धमाधम पक्राउ पर्न थालेसँगै उनी फरार छन् । यसअघि पक्राउ परेका पूर्वगृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईको बयानपछि प्रतीकविरूद्ध पक्राउ पुर्जी जारी भएको हो ।
यस्तै, उक्त प्रकरणमा नेपाली कांग्रेसका पूर्वसभासद आङतावा शेर्पाविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । उनी २०७० सालमा रामेछापबाट सांसदमा निर्वाचित भएका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म उच्चपदस्थसहित १२ जना पक्राउ परेका छन् । पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनका स्वकीय सचिव नरेन्द्र केसी, पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टंक गुरूङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पक्राउ परिसकेका छन् ।
पूर्वउपप्रधानमन्त्री एवम् नेकपा (एमाले) नेता टोपबहादुर रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भए पनि उनी भने हाल फरार छन् ।