काठमाडौँ, २९ वैशाख । पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेको २ दिन भएको छ । तर, उनकी पत्नी मञ्जु खाण अझै पनि उनलाई भेट्न पुगेकी छैनन् । बालकृष्ण पक्राउ पर्नुअघि नै गायब भएकी उनी मोबाइल फोन बन्द गरेर सम्पर्कविहीन भएकी हुन् ।
नेपाली कांग्रेसकी समानुपातिक सांसदसमेत रहेकी उनी संसद्मा जारी सरकारका सिद्धान्त तथा नीतिमाथिको बहसमा सहभागी हुन पनि गएकी छैनन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसी नेतृत्वको टोलीले बालकृष्ण खाणलाई चाबहिलस्थित मैजुबहालमा रहेको निवासबाट पक्राउ गर्दा मञ्जु त्यहाँ थिइनन् ।
श्रीमान्लाई प्रहरीले हिरासतमा थुनिरहँदा नक्कली शरणार्थी प्रकरणमा जोडिएकी मञ्जुको लोकेसनबारे प्रहरीले अहिलेसम्म केही खुलाएको छैन । मञ्जुले साढे ६ करोड र कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले २ करोड बुझेको अडिओ आइसकेको छ ।
उक्त अडिओबारेमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । करिब २० मिनेटको भनिएको उक्त अडिओको वास्तविकतामाथि प्रहरीले छानबिन गरिरहेको छ ।
तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको बयानका आधारमा पक्राउ परेका बालकृष्णले नक्कली शरणार्थी प्रकरणमा रकम लेनदेन गरेको प्रमाण भेटिएको जनाएको छ ।
बालकृष्ण खाण पक्राउ परेपछि दोस्रो दिन बिहीबार बिहानदेखि नै परिसरमा भेटघाट चलिरह्यो । उनका नजिकका नातागोता र इष्टमित्र भेट्न पुग्दा मञ्जुको खोजी भइरह्यो । तर, त्यो भीडमा मञ्जु कतै पनि देखिइनन् ।
मञ्जुविरूद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छैन । तर, उनी दुई दिनदेखि गायब छिन् ।
हालसम्म प्रहरीले नक्कली शरणार्थी प्रकरणमा १२ जनालाई पक्राउ गरिसकेको छ । पछिल्लो पटक खाण समातिएका छन् ।
उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा बुधबार ५ घन्टा बयान लिइएको थियो । तर, समय बित्दा पनि पतिको अवस्थाबारे जानकारी लिन मञ्जुले प्रहरीसँग पनि सम्पर्क नगरेको स्रोतले जनाएको छ ।