नक्कली शरणार्थी प्रकरण : पक्राउ पर्नेको संख्या १२ पुग्यो

222

काठमाडौँ, २७ वैशाख । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परेका छन् ।

प्रहरीले उनलाई आज बिहान जडिबुटीबाट पक्राउ गरेको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिए । यसैगरी, सोही घटनाको अनुसन्धानका लागि पूर्वगृहमन्त्री खाणलाई पनि प्रहरीले चुच्चेपाटीस्थित उनकै निवासबाट आजै नियन्त्रणमा लिएको थियो ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ पर्नेको संख्या १२ पुगेको प्रहरीले जनाएको छ । यसअघि, प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टंक गुरूङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पक्राउ गरिसकेको छ ।

उक्त घटनका अर्का आरोपित नेकपा (एमाले)का सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी भने फरार रहेकाले प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

जिल्ला प्रहरी परिसरले उनीविरूद्ध संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । उक्त घटनामा हालसम्म १०६ जनाले २० वटा जाहेरी दिइसकेको बताइएको छ । उक्त घटनाका पीडितहरूले कुल २३ करोड २५ लाख ठगी भएको जाहेरीमा उल्लेख गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...