मोरङ । मोरङमा पछिल्लो १८ घण्टाका अवधिमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । विराटनगरका विभिन्न अस्पतालमा आठ र दुई जनाको होम आइसोलेसनमा मृत्यु भएको छ । मृत्यु हुनेमा आठ पुरुष र दुई महिला रहेका छन् । विराटनगरको नोबेल शिक्षण अस्पतालमा मंगलबार पाँचजना कोरोना संक्रमणबाट मृत्यु भएको छ भने कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा दुई, न्यूरो कोभिड अस्पतालमा एक र होम आइसोलेसनमा दुईजनाको मृत्यु भएको हो ।
नोबेल शिक्षण अस्पतालमा तेह्रथुमको म्याङ्लुङ–१० का ५७ वर्षीय संक्रमित पुरुषको मंगलबार मृत्यु भएको छ । मृतकलाई कोरोना पुष्टि भएपछि यही कात्तिक २२ गते उपचारका लागि भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । सोही अस्पतालमा झापा गौरादह–५ का ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । मृतकको पोजेटिभ रिपोर्ट आएपछि उपचारका लागि यही कात्तिक १३ गते अस्पताल भर्ना गरिएको थियो । यस्तै झापाको हल्दिबारी–४ का ७० वर्षीय संक्रमित पुरुषलाई यही कात्तिक १५ गते उपचारका लागि नोबेल अस्पताल भर्ना गरिएकामा मंगलबार मृत्यु भएको छ भने उदयपुरको त्रियुगा–३ का २१ वर्षीय संक्रमित युवाको उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको छ । मृतक युवालाई कोरोना पोजिटिभ आएपछि यही कात्तिक २२ गते उपचारका लागि भर्ना गरिएका प्रबन्धक दाहालले बताए ।
नोबेलमा मोरङको रतुवामाई नगरपालिका–९ का ७७ वर्षीय संक्रमित वृद्ध पुरुषको मृत्यु भएको छ । मृतकलाई यही कात्तिक २२ गते उपचारका लागि अस्पताल भर्ना गरिएका थियो । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा सुनसरी इटहरी–५ का ६९ वर्षीया वृद्धा महिलाको मृत्यु भएको केन्द्रका प्रमुख व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । मृतकलाई कात्तिक १३ गते पोजिटिभ आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
त्यस्तै, सोही केन्द्रमा विराटनगर–३ का ७७ वर्षीय वृद्ध पुरुषको पनि उपचारका लागि भर्ना गरिएकामा मृत्यु भएको छ । मृतकलाई कोरोना पुष्टि भएपछि यही कात्तिक २२ गते केन्द्रमा भर्ना गरिएको थियो ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–७ की ७७ वर्षीया वृद्धा महिलाको आफ्नै घरमा मृत्यु भएको छ । मृतकलाईको यही कात्तिक २४ पोजिटिभ देखिएको र होम आइसोलेसनमा बसेको नगरपालिकाले जनाएको छ । विराटनगर–३ का ८९ वर्षीय संक्रमित पुरुषको होम आइसोलेसनमा सोमबार राति मृत्यु भएको छ ।
कोरोना संक्रमणपछि मृतक होम आइसोलेसनमा बसेका परिवारले जनाएको छ । न्यूरो कोभिड अस्पताल विराटनगरमा मोरङको कटहरी–२ का ५० वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको छ ।मृतकलाई यही कात्तिक २१ उपचारका लागि भर्ना गरेको दिन पोजिटिभ देखिएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले बताए । मृतकहरुमा ज्वरो, निमोनिया, श्वासप्रश्वास, उच्च रक्तचाप, फोक्सो, मिर्गौला र मुटुसम्बन्धी पुरानै समस्या रहेको थियो ।