प्रदेश सरकारका लागि प्रदेशले नै निर्णय गर्छ : उपाध्यक्ष पौडेल

45

सुर्खेत, १२ चैत । प्रदेश सरकारमा रहेका आफ्ना मुख्यमन्त्री तथा मन्त्रीहरूलाई छाड्न कुनै निर्देशन नदिने नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बताएका छन् ।

अछाम जाने क्रममा सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले सरकारमा रहने वा बाहिरिने भन्ने विषयमा प्रदेशकै अधिकार रहेको बताएका हुन् ।

“सरकारमा रहने कि बाहिरिने भन्ने त सरकारमा नेतृत्व गरेका मुख्यमन्त्रीहरूमै भरपर्छ,” पौडेलले भने, “केन्द्रमा समीकरण बदलियो भन्दैमा प्रदेशमा समीकरण बदलिहाल्नुपर्छ भन्ने मनसायमा पार्टीको केन्द्रीय नेतृत्व छैन ।” पौडेलले एमालेबाट मुख्यमन्त्री र मन्त्री बनेकाहरूलाई सरकार छाड् वा राजीनामा दिनुपर्छ भनेर कुनै निर्देशन नगर्ने स्पष्ट पारे । “समीकरण कायम रहन्छ वा रहँदैन भन्ने प्रदेशमै रहेका एमालेको नेतृत्वमा निर्भर रहन्छ । यसमा केन्द्रको कुनै हस्तक्षेत्र र परिपत्र गर्दैन,” उनले भने ।

समस्या समाधानभन्दा पनि देशमा कस्ता खालका समस्या छन् भन्ने जानकारी नै अहिलेको गठबन्धनलाई नभएको आरोप पौडेलको छ । उनले देशको अर्थतन्त्र निराशाजनक अवस्थामा पुग्दा पनि देशले यतिका समयसम्म अर्थमन्त्री नै नपाउनु दुर्भाग्य भएको बताए ।

“सरकारले राम्रा काम गर्ला भनेर आशा गर्ने ठाउँ छैन,” उनले भने, “प्रतिपक्षमा रहेर सडक र सदनबाट जनताका समस्याहरू बुलन्द रूपमा उठान गर्ने र आगामी निर्वाचनका लागि एकल बहुमत निर्माण गर्नेगरी जनता माझ पुग्न मिसन ग्रासरूटमा होमिएका छौँ ।”

Share This:
सम्बन्धित खबर
Loading...