सार्वजनिक स्थानमा फोहोर फाल्नेमाथि महानगरको कारबाही, १२ हजार जरिबाना असुल
काठमाडौँ, ९ चैत । काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फालेको भन्दै दुई जनालाई कारबाहीस्वरूप १२ हजार जरिबाना असुल गरेको छ ।
काठमाडौँ महानगरले कालिमाटी क्षेत्रमा सीपचन्द्र मण्डल र काठमाडौँ–९ का सानोकान्छा भारतीलाई सार्वजनिकस्थलमा फोहोर फालेको भन्दै जरिबाना तिराएको काठमाडौँ महानगरपालिका वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार जरिबानास्वरूप महानगरले मण्डललाई २ हजार र भारतीलाई १० हजार जरिबाना तिराएको हो । महानगरले भारतीलाई घर निर्माण गर्दा उत्पादित फोहरमैला सडकमा फालेको भन्दै जरिबाना गरेको हो । त्यस्तै, मण्डलले सार्वजनिक स्थानमा फोहर फालेका कारण उनलाई जरिबाना गराइएको हो ।
काठमाडौँ महानगरले पछिल्लो समय सडकपेटी तथा फुटपाथमा निर्माण सामग्री हटाउने काम नियमित गरिरहेको छ । पैदलयात्री हिँड्ने सडकपेटीमा निर्माण सामग्री राखिएको भन्दै महानगरले पछिल्लो समय यस्ता सामग्री सम्बन्धित व्यक्तिलाई हटाउन आग्रह पनि गरिरहेको छ । काठमाडौँ महानगरको आग्रह अटेरी गरे अनुगमन गरी जरिबाना गर्ने गरेको छ ।
फोहरलाई तोकिएको स्थानमा मात्र व्यवस्थापन गर्नका लागि काठमाडौँ महानगरले हरेक दिन बिहान माइकिङ गर्ने गरेको छ । नागरिकले सडकमा यत्रतत्र फोहर फाल्न थालेपछि कामपाले नफाल्नका लागि आग्रह गरी अटेर गर्नेलाई ५ सयदेखि ५ हजारसम्म जरिबानासमेत तिराउने गरेको छ ।