काठमाडौँ, ६ चैत । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले अस्थिरतातर्फ अघि बढाएको आरोप लगाएका छन् ।
प्रधानमन्त्री प्रचण्डले प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावको छलफलमा बोल्दै उनले प्रधानमन्त्रीले विश्वास गुमाएको बताएका हुन् । प्रधानमन्त्रीले स्थिरताको कुरा गरे पनि उनको क्रियाकलाप अस्थिरतातर्फ उन्मुख भएको पौडेलले बताए ।
प्रतिनिधिसभाको निर्वाचनपछि एमाले राष्ट्रिय सहमतिका पक्षमा रहेको तर अहिले एमालेलाई मात्र एक्ल्याइएको भन्दै उपाध्यक्ष पौडेलले एमालेबिनाको कस्तो राष्ट्रिय सहमति खोजिएको हो भनी जिज्ञासा राखे ।
उपाध्यक्ष पौडेलले भने, “राष्ट्रिय सहमतिका नाममा एमालेलाई एक्लो बनाउने, किनारा गराउने, शत्रुता र कटुताको परिस्थिति निम्त्याएर राष्ट्रलाई द्वन्द्वतर्फ धकेल्ने काम गरिएको छ ।”
प्रतिनिधिसभा निर्वाचनको समयमा गठबन्धन बनेको र नतिजाका अनुसार आफूहरू दोस्रो ठुलो दल भएको भन्दै पौडेलले पहिला एमालेले गठबन्धनले सरकार बनाओस् भन्ने चाहेको बताए । तर, राष्ट्रपतिले दिएको समयमा गठबन्धनले सरकार बनाउन नसकेपछि प्रचण्ड एमालेकहाँ आएर सरकार गठनको प्रस्ताव गरेको बताए । प्रचण्डलाई सर्तसहित आफूहरूले समर्थन गरेको भन्दै पौडेलले प्रधानमन्त्रीलाई प्रश्न गरे ।
“प्रधानमन्त्री बन्न एमालेको समर्थन लिने, प्रधानमन्त्री बनेपछि एमालेलाई शत्रुतापूर्ण व्यवहार गर्ने ?,” पौडेलले सोध, “तपाईंले के गर्नुभयो । त्यो सहयात्राबाट यो सहयात्रा किन ? पुस १० मा किन हाम्रोमा आउनुभयो । इतिहासले यो प्रश्न सोधिरहने छ ।”
प्रचण्डले राष्ट्रिय सहमतिको प्रसंग उठाएको विषयमा पौडेलले एमाले बिनाको राष्ट्रिय सहमति हुन नसक्ने बताए । उनले भने, “प्रधानमन्त्रीले खोजेको राष्ट्रिय सहमति कस्तो राष्ट्रिय सहमति हो ? एमाले बिनाको राष्ट्रिय सहमतिको परिकल्पना हो भने एमाले त्यसको विरूद्धमा छ । एमालेलाई किनारा लगाउने र एक्ल्याउने ? समर्थन लिने र शत्रुता गर्ने ? यो मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने प्रयास हो ।”
पौडेलले प्रचण्डले पुस २६ गते विश्वासको मत लिएको र आज फेरि विश्वासको मत लिइरहेको भन्दै अब कहिले विश्वासको मत लिने भन्दै प्रश्नसमेत गरे ।
“संसद्को बिजनेस नै सकिने भयो । अर्कोपटक विश्वासको मत कुन मितिमा लिने हो ? महिनादिन नपुग्दै फेरि आउने त होइन ?,” उनले प्रश्न गरे ।
आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले एमालेलाई किन समर्थन फिर्ता लिएको भन्दै प्रश्न गरेका थिए । त्यसको जबाफमा पौडेलले प्रधानमन्त्रीले एमालेबाट परराष्ट्रमन्त्री रहेकी विमला राई पौडेलप्रति गरेको व्यवहार प्रमुख कारण रहेको खुलाए । एमालेले सरकारको साथ छोड्नुको कारण दुनियाँलाई थाहा भएको र सबैभन्दा धेरै जानकारी प्रधानमन्त्री प्रचण्ड नै भएको भन्दै पौडेलले भने, “आफैँलाई थाहा भएको उत्तर सोधिरहनु पर्दैन ।”
मुलुकको अर्थतन्त्रका बारेमा प्रधानमन्त्रीले राखेको अभिव्यक्तिबीच मेल नखाएको बताउँदै पूर्वअर्थमन्त्री पौडेलले विभिन्न कारणबाट मात्रै विदेशी मुद्राको सञ्चित सकरात्मक हुन पुगेको दाबी गरे ।
उनले भने, “हाम्रो राजश्वले साधारण खर्च पनि धान्न नसक्ने अवस्था छ, पुँजीगत खर्चको अवस्था पनि त्यति उत्साहजनक देखिन्न, सरकार संसदीय अंकगणितमा केन्द्रित हुँदा धरासयी हुँदै गएको अर्थतन्त्र सुधार गर्नेतर्फ ध्यान केन्द्रित हुने संकेत देखिन्न ।”