काठमाडौँ, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले अविलम्ब शान्ति प्रक्रियाका सम्पूर्ण काम टुंग्याउन सक्रियताका साथ लागेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत लिनुपूर्व सम्बोधन गर्दै उनले यसका लागि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप ऐन, २०७१ संशोधनका लागि विधेयक तयार गरी संसद्मा पेस गरिसकेको बताए ।
अन्तर्राष्ट्रिय मानवअधिकार तथा मानवीय कानुन, संक्रमणकालीन न्यायका मान्य सिद्धान्त, पीडित तथा सरोकारवालाबाट प्राप्त सुझाव र सर्वोच्च अदालतका आदेशसमेतको आधारमा विधेयक अघि बढाइने उनको भनाइ छ ।
“यो कुनै दलविशेषको मुद्दा वा सरोकार भनइ मुलुकले समाधान गर्नुपर्ने राष्ट्रिय विषय हो,” उनले भने, “शान्ति प्रक्रियाका बाँकी काम र संक्रमणकालीन न्यायलाई छिट्टै टुंग्याउन सरकारले उच्च प्राथमिकताका साथ काम गर्ने छ ।”
प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा बैठकमा गरेको सम्बोधनको पूर्णपाठ