काठमाडौँ, २ चैत । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जटिल र झन्झटिलो कानुनी प्रक्रियाका कारण जनताले सजिलै न्याय पाउन नसकेको बताएका छन् ।
नेपाल ल क्याम्पसको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आयोजना गरेको ‘कानुनका विद्यार्थीसँग केपी ओली’ कार्यक्रममा अध्यक्ष ओलीले नागरिकको न्यायमा सहज पहुँचका लागि कानुनी जटिलताहरू हटाउनुपर्ने बताए ।
कार्यक्रममा विद्यार्थीसँगको अन्तरक्रियामा उनले भने,“आजको विश्वमा हरेक क्षेत्रमा नियम कानुनले चल्छ र चल्नपर्छ । तर, नियम कानुनको यति जञ्जाल बनेको छ कि त्यो पार गरिसक्दासम्म काम गर्ने समय सकिन्छ । प्रशासनिक ढिलासुस्ती पनि कानुनी प्रक्रियाका कारणले भैरहेको छ । कतिपय कानुन र कानुनी प्रक्रियाले विकासका काममा अवरोध पुर्याएको छ ।”
उनका अनुसार कानुनको सहज कार्यान्वयनको परिस्थिति हुनुपर्छ । “कानुनको उपयोगिता र सहज कार्यान्वयन दुवै हुनपर्छ । अन्यथा कानुनी प्रक्रियाको जटिलताले समाजको अग्रगमन, प्रगति, विकास, सुशासन र न्याय प्राप्तिलाई अप्ठ्यारोमा पार्छ,” उनले भने ।