काठमाडौँ, १ चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी भित्रैबाट विश्वेश्वरप्रसाद कोइराला (बिपी)माथि अन्याय भइरहेको टिप्पणी गरेका छन् । आजको समस्या समाधान गर्न पनि बिपी कोइरालाले नै भनिदिएको हुनुपर्ने अवस्था पार्टीभित्र रहनु बिपीमाथि नै कांग्रेसले अन्याय गर्नु रहेको उनको तर्क थियो ।
मंगलबारदेखि काठमाडौँमा सुरू भएको नेपाल ट्रेड युनियन कांग्रेसको नीति अधिवेशनमा बोल्दै महामन्त्री थापाले नेपालमा सिर्जना भएका रोजगारीमा नेपालीहरूले काम नपाउने चुनौती आज रहेको र त्यसको समाधान बिपी कोइरालाको भनाइलाई खोजेर गर्न नसकिने स्पष्ट पारे । उनले हाम्रो भागको समस्याको समाधान हामी आफैँले गर्नुपर्ने भन्दै त्यसमा लाग्न पनि ट्रेड युनियन कांग्रेसका पदाधिकारीहरूलाई सचेत गराए ।
महामन्त्री थापाले भने, “रोजगारी सिर्जना हुन्छ तर नेपालीले त्यसमा काम पाउँदैनन् । आज के, कति कारणले नेपाली कामदारहरू काम लागिरहेका छैनन् ? सानो गार्मेन्ट खोल्ने मान्छेलाई हामीले कुरा गर्न गयो भने के, कति कारणले गर्दा होला उसले पनि नियतवश नेपालीलाई कामै दिन्न भनेको त होइन होला । तर, के, कति कारणले नेपाली कामदाहरू काम लागिरहेका छैनन् ? आजको चुनौती यस्तो आएको छ । यस्तो बेलामा पनि हामीले पुरानो बिपी कोइरालाले यसको बारेमा बिपीमाथि अन्याय गर्नु हो नि त । त्यो भन्नुभएको रहेनछ भन्नु भनेको त अन्याय गर्नु हो नि । हाम्रो भागको समस्याको समाधान पनि उनले गर्नुपर्ने कि हामीले गर्नुपर्ने ?”
महामन्त्री थापाले बिपी कोइराला कांग्रेसका लागि मूल विचारधारको स्रोत भए पनि आजको चुनौती आफूहरूले समाधान गरेर अघि बढ्नुपर्ने बताए ।