गौंदीखोला सरसफाई अभियान सुरू

42
  • थम्मन थापा

बागलुङ, २८ फागुन । गलकोट नगरपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा गौंदी खोला सरसफाई अभियान सुरु गरेको छ । स्वच्छ वातावरण निर्माण गर्दै सन्तुलित पर्यावरण कायम राख्ने उद्देश्यले बृहत् सरसफाई अभियानको शुभारम्भ गरिएको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिए ।

पछिल्लो समय खोलानाला दुर्गन्धित बन्दै गइरहेको र सरसफाई अभियानले खोलानाला सफा रहने अपेक्षा गरिएको उनको भनाइ छ । अभियानले खोलानालामा फोहोर नगर्न जनचेतना फैलाउने समेत विश्वास लिइएको गैरेले उल्लेख गरे । त्यसका लागि नगरबासी नागरिक जिम्मेवार भएर कुहिने, नकुहिने र सिसाजन्य फोहोरको वर्गीकरण गरी नगरको फोहोर व्यवस्थापन अभियानलाई सफल पार्न सहयोग गर्न समेत अपिल गरेका छन् ।

दिनहुँ खोलाहरु दुर्गन्धित हुन थालेपछि मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने र वातावरण समेत नराम्ररी बिग्रन थालेको भन्दै नगरपालिकाले बृहत् सरसफाई अभियानको शुभारम्भ गरेको गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले बताए ।

गलकोटको केन्द्र हटिया बजारमा जनघनत्व बढेसँगै गौंदी खोला फोहोर र दुर्गन्धित बन्दै गइरहेको र त्यसलाई न्यूनीकरण गर्न नगरले यो अभियान थालनी गरेको गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारीले जानकारी दिए । नागरिकको चेतनास्तर वृद्वि गर्दै फोहोर व्यवस्थापनमा स्थानीय सरकार, सरोकारवाला र नागरिकको सहभागिता बढाउन बृहत् सरसफाईको कार्य अगाडि बढाईएको गलकोट नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष फम बहादुर खत्रीले बताए ।

सरसफाई अभियानमा गलकोट नगरपालिकाका जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, प्रहरी, स्वास्थ्यकर्मी, सरोकारवाला, टोल विकास संस्था र समाजसेवीसँगै नागरिकको उत्साहजनक सहभागिता रहेको थियो ।

गलकोट नगरपालिका वडा नम्बर ३ र ६ को संगमस्थल गौंदी खोलाको जिपपार्क पुलचोक, गलकोट माध्यमिक विद्यालय परिसर, जामुनडाँडा जाने बाटो परिसर हुँदै गौदी, दरमघाटसम्म सरसफाइ गरिएको छ ।

गलकोट नगरपालिकाले पहिलेदेखि नै हटिया बजारमा कुहिने, नकुहिने र सिसाजन्य फोहोरको वर्गीकरण गरी फोहोर व्यवस्थापन कार्यलाई निरन्तरता दिँदै आएपनि रातको समयमा खोलामा लगेर फोहोर फाल्ने क्रम बढेको सरोकारवालाले बताएका छन् । गौंदी खोलामा प्लाष्टिकजन्य वस्तु, सिसासँगै अन्य फोहोर फाल्ने प्रवृत्ति बढेपछि अहिले खोला कुरूप बन्दै गइरहेको छ । सरसफाई अभियानलाई निरन्तरता दिइने गलकोट नगरपालिकाले जनाएको छ । नगरले गौंदीखोलासँगै अन्य खोला छेउछाउमा फोहोर नफाल्न र फोहोर नगर्न नगरबासीलाई अपिल समेत गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...