उड्न लागेको जहाजभित्र एक महिला रोएपछि…

110

काठमाडौँ, २७ फागुन । भारतको बैंगलोरका लागि उड्ने तयारीमा रहेको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को जहाजमा रहेकी एक महिला यात्रु जहाजभित्र रूवावासी गर्दै ओर्लिने भनेपछि सबै यात्रुलाई ओरालेर एक घन्टा ढिलो गरी जहाज उडाइएको छ ।

आरए २२५ उडानमा रहेकी ती यात्रु रोएपछि शनिबार दिउँसो २ बजे उड्नुपर्ने उक्त विमान एक घन्टा डिले गरिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित डिडिओ कार्यालयका अनुसार महिला रून थालेपछि जहाजमा शंकास्पद वस्तु रहेको आशंकामा सबै ११७ जना यात्रुलाई ओरालेर जहाजभित्र जाँच गरिएको थियो ।

ती महिलालाई भने उडान रद्द गरी ललितपुरस्थित उनकै घर फिर्ता पठाइएको छ । उनले घरमा केही व्यक्ति बिरामी भएकाले भारत जान नसकेको कारण दिएकी छन् ।

निगमले जहाजभित्र सबै जाँच गरेर एक घन्टापछि थप यात्रुलाई यात्रा गराएको हो । महिलाको यात्रा भने रद्द गराइएको टिडिओ कार्यालयले जनाएको छ ।

उडान नियमअनुसार उड्ने बेला कोही यात्रुले जहाजभित्रै यसैगरी जान इन्कार गरेमा सबै यात्रुलाई ओरालेर जाँच गरेपछि मात्रै जहाज उडाइने टिडिओ कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...