काठमाडौँ, २६ फागुन । विस्तृत शान्ति सम्झौता तथा विगतमा भएका सहमतिविपरीत राजनीतिक आन्दालनलाई अपराधीकरण गर्न खोजिएको निष्कर्ष निकाल्दै माओवादी घटकले त्यसको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको जनयुद्धकालीन माओवादीका शीर्ष नेता सम्मिलित बैठकले पछिल्ला दिनमा भइरहेका गतिविधिको सामूहिक प्रतिपाद गर्ने र साझा धारणा सार्वजनिक गर्ने निर्णय गरेका हुन् ।
शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायका सन्दर्भमा समान धारणाका साथ जनतामा जाने निर्णय गरेको नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरूङ जानकारी दिए ।
बैठकले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते संयुक्त अन्तरक्रिया गर्नेसमेत निर्णय गरेको छ । पत्रकार सम्मेलनअघि संयुक्त अपिलसमेत जारी गरिने छ । अन्तरक्रियामा माओवादी घटकका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
बैठकमा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा (क्रान्तिकारी–माओवादी)का नेता सिपी गजुरेल, नेकपा समाजवादी पार्टीका नेता हिसिला यमी, नेकपा (बहुमत) का नेता हेमन्तप्रकाश ओली, वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष आहुति, माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव गुरूङ, उपमहासचिव जर्नादन शर्मा, सचिव देवेन्द्र पौडेल, नेकपाका नेता खड्गबहादुर विक र नेकपा (माओवादी केन्द्र समाजवादी)का नेता कर्णजित बढाथोकीलगायत उपस्थित थिए ।