स्वास्थ्य सेवा सुधार्न सञ्चार प्रविधिको प्रयोग बढाऔँ : मन्त्री शर्मा

57

काठमाडौँ, २५ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार तथा सूचना प्रविधिलाई स्वास्थ्य सेवा सुधारमा उपयोग गर्ने नीति बनाउने बताएकी छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागले राजधानीमा आयोजना गरेको पहिलो महिला स्वास्थ्य सम्मेलन उद्घाटन गर्दै उनले प्रभावकारी टेलिमेडिसिन, डिजिटल सचेतनालगायत कार्यक्रममार्फत स्वास्थ्य सेवा सुधारका लागि कार्यक्रम बनाउने बताएकी हुन् ।

संविधानमा प्रजनन स्वास्थ्यलाई उल्लेख गर्नु ठुलो उपलब्धि भएको उल्लेख गर्दै उनले अब यसको कार्यान्वयनमा सबै क्षेत्रको गम्भीररुपमा ध्यान जानुपर्ने बताइन् । उनले भनिन्, “हामीले प्रजनन स्वास्थ्यलाई मौलिक हक त बनायौ तर यसको कार्यान्वयन कसरी गर्ने भनेर आम महिलामा लैजान सकेका छैनौँ, अब यसको सचेतनता र कार्यान्वयनमा जोड दिनुपर्छ । यसमा आमसञ्चार तथा सूचना प्रविधिको व्यापक परिचालन गर्ने नीति बनाउनुपर्छ ।”

महिला हिंसा अन्त्य र महिलासँग जोडिएका कानुनी व्यवस्थाको कार्यान्वय पनि महिला स्वास्थ्यकै रुपमा अघि बढाउनुपर्ने धारणा राख्दै उनले यसका लागि सबै सरकारी निकायबीच समन्वय आवश्यक रहेकोमा जोड दिइन्। “सबै मन्त्रालय र निकायले उस्तै काम गरिरहेका हुन्छन् तर एक आपसमा समन्वय नहुँदा परिणाम निकाल्न गाह्रो हुने गरेको छ,” मन्त्री शर्माले भनिन्, “शिक्षा, स्वास्थ्य, सञ्चार, कानुन सबै सवाल जोडिएका हुन्छन्, यी सबैको निकायको समन्वयमा एकीकृत विार्षिक कार्यक्रम बनाउन जोड दिनुपर्छ ।”

बुधबार मात्रै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा प्रधानमन्त्रीले महिला स्वास्थ्यसम्बन्धी विशेष घोषणा गरेको स्मरण गराउदै उनले यसलाई प्रभावकारी कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिन् । “प्रधानमन्त्रीले सातवटै प्रदेशमा निःसन्तान उपचार सेवा, वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना, महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा विस्तार गर्ने घोषणा गर्नुभएको छ,” सरकारका प्रवक्ता समेत रहेकी मन्त्री शर्माले भनिन् ।

त्यस्तै, प्रधानमन्त्रीले पाठेघरको क्यान्सर रोकथामका लागि ९ देखि १३ वर्षका बालिका लक्षित एचपीभी खोप कार्यक्रमलाई देशव्यापी विस्तार गर्ने र प्रजनन उमेर समूहका महिलाहरूमा देखिएको रक्तअल्पताको अन्त्य गर्न महिलालक्षित पोषण कार्यक्रम सञ्चालन घोषणा गरेको स्मरण गराउँदै मन्त्री शर्माले सरकारले स्वास्थ्य क्षेत्रप्रति बढी नै संवेदनशील रहेको बताइन् ।

स्वस्थ नागरिकका लागि हरेक आमा स्वस्थ हुनुपर्ने उल्लेख गर्दै मन्त्री शर्माले महिलाको स्वास्थ्यलाई स्वस्थ नागरिक र सबल राष्ट्र निर्माणको आधार बनाउनुपर्ने बताइन् । दुई दिनसम्म चल्ने सम्मेलनमा विज्ञहरुका कार्यपत्रमा छलफल हुने र यसबाट महिला स्वास्थ्यसम्बधी नीति निर्माण गर्न सहयोग पुग्ने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...