काठमाडौँ, २२ फागुन । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आर्थिक स्थायीत्वका लागि ब्याजदरमा लकअफ प्रणाली लागु गर्नुपर्ने बताएका छन् ।
ब्याजदर अस्थिर हुँदा ऋणीहरु मर्कामा परेको र लगानीको वातावरण सिर्जना हुन नसकेको भन्दै अध्यक्ष मल्लले लकअप प्रणालीमा जानुपर्ने बताएका हुन् । उद्योग व्यवसाय सञ्चालन, घरजग्गा, कृषिलगायत विभिन्न प्रयोजनमा ऋण लिने प्रक्रियामा सुरुवाती चरणमै निश्चित ब्याजदर कायम गर्ने र पछि फेरबदल नहुने हो भने वित्तीय क्षेत्रमा अस्थिरता नआउने अध्यक्ष मल्लको भनाइ छ ।
दोलखा चेम्बरको आयोजनामा भएको महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष मल्लले बैंक वित्तीय संस्थामा भएको उच्च ब्याजदरका कारण व्यवसायिक गतिविधि ठप्प प्राय भएको बताए । अध्यक्ष मल्लले भने, “ब्याजदर १५÷१६ प्रतिशत सम्म कायम छ । ऋण लिएर व्यवसाय गर्ने वातावरण छैन, उद्योगी व्यवासायीहरु पलायन हुने अवस्था सिर्जना भएको छ ।”
बैंक वित्तीय संस्थाले आधार दरमा लिने प्रिमियम उच्च हुँदा पनि ऋणीहरु मर्कामा परेको अध्यक्ष मल्लले बताए । उनले भने, “आर्थिक विकास र समृद्धिका लागि वित्तीय स्थायीत्व र लगानीको वातावरण सिर्जना गर्न आवश्यक छ ।”
उद्योग तथा साना व्यवसायमा सामूहिक लगानीमाफर्त् नयाँ रोजगारी सिर्जना गर्नका लागि निजी क्षेत्र र सरकारबीच हातेमालो गर्न आवश्यक रहेकोमा अध्यक्ष मल्लले जोड दिए । कृषि, पर्यटन, एवम् साना उद्योगको विकास राज्यको प्राथमिकतामा पर्नुपर्ने अध्यक्ष मल्लले बताए ।
अर्को प्रसंगमा अध्यक्ष मल्लले दोलखा कृषि उत्पादनका दृष्टिकोणले अग्रणी भए पनि अपेक्षित लाभ प्राप्त हुन नसकेको बताए । दोलखामा सामूहिक खेती प्रणालीमार्फत् उत्पादन वृद्धि गर्न सकिने अध्यक्ष मल्लको भनाइ छ । उनले जिल्लामा उत्पादित कृषि उपजहरुको बजारीकरणका लागि दोलखा चेम्बर अफ कमर्सले समन्वय गर्ने बताए ।