गृहजिल्लामा सन्दुक रूइतले गरे ७० जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया

286

ताप्लेजुङ, २१ फागुन । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा ७० जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ र फक्ताङलुङ गाउँपालिकाद्वारा आयोजित शिविरमा मोतियाविन्दुको समस्या देखिएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको हो ।

यही फागुन ८ गतेदेखि यस गाउँपालिकाका विभिन्न ठाउँमा भएको आँखा जाँच तथा सामान्य उपचारका क्रममा भेटिएका मोतियाविन्दुका बिरामीको शनिबार र आइतबार शल्यक्रिया भएको हो । नेपालका प्रख्यात नेत्र रोग विशेषज्ञ चिकित्सक डा.सन्दुक रुइतसहित आँखाका स्वास्थ्यकर्मीको टोलीले शल्यक्रिया गरेको हो । चिकित्सक रुइत आफू जन्मिएको गाउँमा आएर उपचारमा संलग्न भएका हुन् ।

मोतिबिन्दु भएको आँखा शल्याक्रियापछि पुनः आँखाको परीक्षण गराउँनुहुँदै वरिष्ठ नेत्र रोग विषेशज्ञ डा.सन्दुक रुइत ।

 

शिविरमा दुई हजार ४३० जना आँखाका बिरामीको जाँच तथा सामान्य उपचार भएको छ । दुर्गम मानिने यस गाउँपालिकाका विभिन्न ठाउँमा आँखा जाँच तथा सामान्य उपचार सेवा सञ्चालन गरिएको थियो । गाउँपालिकाको केन्द्र तापेथोकमा शल्यक्रिया गर्ने व्यवस्थापन गरेर मोतियाविन्दुको समस्यामा परेकाको उपचार भएको गाउँपालिका प्रमुख मुक्ति लाबुङले जानकारी दिए ।

बिरामीलाई शल्यक्रिया गर्ने स्थानसम्म आउन सवारी साधन र खानबस्नेको व्यवस्था गाउँपालिकाले गरेको गाउँपालिका प्रमुख लाबुङले जानकारी दिए । जटिल समस्या देखिएका चार जनालाई भने तिलगङ्गा आँखा अस्पतालमा उपचारका लागि सिफारिस भएको छ । दुर्गम ठाउँमा शिविर सञ्चालन हुँदा सेवा पाएका स्थानीयवासी भने खुसी भएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...