एजेन्सी, १९ फागुन । उनले जीवनका ८९ वसन्त पार गरिसकेका छन्, तर उनले हिमाल चढ्न छाडेका छैनन् । अक्सिजन बिना नै सगरमाथा आरोहण गरेका अष्ट्रियाका आरोही पिटर हाबेलर अझै पनि हिमालका चुचुरा चुम्न शारीरिकरूपमा सक्षम छन् । आफ्नो यो क्षमतालाई उनी ‘युवावस्थाको स्रोत’ भन्न रूचाउँछन् ।
हाबेलर र उनका इटालियन साथी रेनहोल्ड मेस्नरले बिना अक्सिजन विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने प्रणलाई धेरैले असम्भव भनेर टिप्पणी गरेका थिए । तर, उनीहरूले सन् १९७८ मा पूरक अक्सिजन बिना नै सगरमाथाको चुचुरोमा पुगेर विश्वलाई नै चकित पारिदिए । जब उनीहरूका पाइला सगरमाथाको शिखरमा पुगे आफूमा धेरै खुसी, केही दुःख र त्रासले घर गरेको हाबेलरले पश्चिमी अष्ट्रियाको आफ्नो निवासमा एएफपीलाई भने ।
जीवनको नवौँ दशकमा प्रवेश गरेका हाबेलरले हिमाल आरोहणलाई निरन्तरता दिएका छन् । हिमाल र पहाडलाई उनी साथी भन्न रूचाउँछन् । हिमाल आरोहणबाट हिराका टुक्राभन्दा बहुमूल्य अनुभव आफूलाई प्राप्त भएको उनी बताउँछन् । जलवायु परिवर्तनले ठुलो समस्या खडा गरेकामा उनी चिन्तित छन् । आफ्नो जन्मभूमिका आल्पस हिमाल श्रृंखला हुन् वा अन्य महादेशका हिमाल बढ्दो तापक्रमका कारण हिमा ल पग्लने कुराले उनलाई पोल्छ ।
दिगो पर्यटनका अभियन्ता हाबेलरले हिमाल पथप्रदर्शकका रूपमा काम थालेका थिए । उनका छोरा अहिले पनि आफ्नै जन्मभूमि मेरहोफेनमा स्थापना गरिएको स्की स्कुल सञ्चालन गरिरहेका छन् । दृढ संकल्प, लगन र परिश्रमका साथ प्रयास गरेमा कुनै पनि काम असम्भव केही छैन भन्ने देखाउन तथा अरूका निम्ति अवसरका ढोका खोल्ने उनको चाहना थियो ।
हाबेलर आफूलाई सामान्य मान्छे मान्छन् । सगरमाथा आरोहण गरेको केही वर्षपछिसम्म आफ्नै जन्मस्थानमा समय बिताएका उनलाई ८ हजार मिटरभन्दा माथिका हिमाल आरोहणको अभिलाषाले भने छाडेन । उनले अग्ला हिमालका टुप्पामा आफ्ना पाइला पुर्याए तर उनका साथमा सगरमाथा आरोही मित्र मेस्नर थिएनन् ।
अहिले ७८ वर्षीय मेस्नर विश्वका १४ वटा अग्ला चुचुरा चुम्ने पहिलो व्यक्ति बनेका छन् । अर्थात् उनले ८ हजार मिटरभन्दा अग्ला सबै हिमालको सफलतापूर्वक आरोहण गरेर कीर्तिमान कायम गरेका छन् । मेस्नरसँग मिलेर जे पनि गर्न सकिने हाबेलरको विश्वास छ । सगरमाथा शिखरमा उनले आफ्नो त्रास हटाउन र साहस भर्न गरेको सहयोगका निम्ति हाबेलरले कृतज्ञता व्यक्त गरेका छन् ।
आरोही मेस्नरले आफ्ना मित्र हाबेलरसम्बन्धी पछिल्लो पुस्तकमा उनलको प्रशंसा गरेका छन् । हाबेलरलाई जस्तोसुकै परिस्थितिमा पनि संसारमा जुनसुकै भूभागमा हिमाल सहजै चढ्नसक्ने क्षमता भएको व्यक्तिका रूपमा उनले चित्रण गरेका छन् । ७४ वर्षको उमेरमा हाबेलरले स्वीट्जरल्यान्डको इगर पर्वत उत्तरी मोहडाबाट सफल आरोहण गरेर सबैभन्दा वृद्ध पर्वतारोहीको कीर्तिमान पनि कायम गरे । उनले आफ्ना पूर्वशिष्य डेभिड लामासँग उक्त हिमाल आरोहण गरेका थिए । त्यतिबेला लामाको उमेर २६ वर्ष मात्र थियो ।
क्यानडाको बान्फ राष्ट्रिय निकुञ्जमा हिमपहिरोमा परेर लामाको मृत्यु भएको थियो । लामाको निधनबाट दुःखित हाबेलरका आँखा अहिले पनि रसाउँछन् । आरोही लामाले दुर्घटनामा ज्यान गुमाएपछि उनलाई थप सचेत बनाएको छ । यद्यपि, उनले हिमाल आरोहणलाई जारी राखेका छन् ।
थोरै उपकरण र सामग्री अनी अतिकम बाह्य सहयोगबाटै उनी हिमालतर्फ हिँड्छन् । उनी आफूलाई सामान्य व्यक्तिका रूपमा प्रस्तुत गर्छन् । आफूसँग सधैँ हिमाल आरोहणका निम्ति आवश्यक पर्ने आधारभूत सामग्री मात्र हुने गरेको उनी बताउँछन् ।
आफ्ना मातापिता पर्वतारोही नभए पनि संसारको छानोमा बिना अक्सिजन पुग्नु सफल भएकामा हाबेलर गर्व गर्छन् । आफ्नो सफलताको श्रेय उनी पर्वतारोहणका पथप्रदर्शक र अन्यलाई दिन्छन् । अरूको सहयोगबाट पनि उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने दृष्टान्त उनले प्रस्तुत गरेका छन् ।