काठमाडौँ, १९ भदौ । फ्रान्सको इंग्लिस च्यानलमा एक डुंगा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । मृतकमा ६ जना बच्चा र एक गर्भवती महिला समेत रहेका छन् । स्थानीय प्रोक्युरेटरको कार्यालयका अनुसार मृतकमध्ये १० महिला र दुई पुरुष छन् ।
फ्रान्सको तट रक्षकका अनुसार, ५० भन्दा बढी मानिसलाई क्याप ग्रिस–नेज, बुलेग्न–सुर–मेरको नजिकबाट उद्धार गरिएको छ ।
दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । डुंगा अत्यधिक भार भएका कारण दुर्घटनामा परेको बिबिसीले समाचार खेलेको छ । डुंगामा आठ जनाभन्दा कम मानिसहरूले मात्र लाइफ ज्याकेट लगाएका थिए ।
यस वर्षको इंग्लिस च्यानलमा भएको सबैभन्दा भयानक दुर्घटना हो । मंगलबारको घटनासम्म २०२४ मा च्यानल पार गर्दा ३० जनाले ज्यान गुमाइसकेका थिए । जुन २०२१ पछि सबैभन्दा बढी हो ।
युएनको अन्तर्राष्ट्रिय आप्रवासन संगठनका अनुसार २०२१ मा ४५ जनाको मृत्यु भएको थियो ।
फ्रान्सका आन्तरिक मन्त्री गेराल्ड डर्मेनिनले फ्रान्सेली अधिकारीहरूले साना डुङ्गा प्रयोग रोकिएको बताएका छन् । तर, मानव तस्करहरूले ३० देखि ४० जनासम्म यात्रु बोक्ने डुंगामा ७० जना भन्दा बढीलाई राख्दा दुर्घटना हुने गरेका छन् ।
इंग्लिस च्यानलमा साना डुंगामार्फत् खतरनाक यात्रा गर्ने मानिसहरूको संख्या बढ्दै गएको छ । २०१८ देखि १ लाख ३५ हजारभन्दा बढी मानिसहरूले यस मार्गमार्फत् युकेमा प्रवेश गरेका छन् ।
यस वर्ष २१ हजारभन्दा बढी मानिसहरूले च्यानल पार गरेको पनि बिबिसीले जनाएको छ ।