प्रज्ञामा भूपाल, नाट्यमा निशा र ललितकलामा नारदमणि नियुक्त

63

काठमाडौँ, ४ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको नयाँ कार्यसमिति गठन गरेको छ ।

संस्कृतिमन्त्री सुदन किरातीको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन वटै प्रज्ञा प्रतिष्ठानको नयाँ कार्यसमिति गठन गरेका हुन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कवि भूपाल राई नियुक्त भएका छन् भने उपकुलपतिमा कवि विमल निभालाई नियुक्त गरिएको छ । त्यस्तै, सदस्य सचिवमा प्राडा धनप्रसाद सुवेदीलाई नियुक्त गरिएको छ ।

प्राज्ञहरूमा मधुसुदन गिरी, डा.कृष्णराज अधिकारी, राजन मुकारूङ, बाबा बस्नेत, डा.कौशिला रिसाल, हंसावती कुर्मी, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली नियुक्त भएका छन् । साथै २४ जना प्रज्ञासभा सदस्य पनि नियुक्त भएका छन् ।

यसैगरी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा मूर्तिकार नारदमणि हार्तम्छाली नियुक्त भएका छन् भने उपकुलपतिमा पेन्टर लालकाजी लामालाई नियुक्त गरिएको छ । त्यस्तै, सदस्य सचिवमा पाल्साङ्मो लामालाई नियुक्त गरिएको छ ।

प्रज्ञहरूमा प्रदीप अधिकारी, सौरगंगा अधिकारी, दिनेश्वर महतो, सञ्जय वान्तवा, अरूणा हिङमाङ, देवेन्द्रकुमार काफ्ले नियुक्त भएका छन् । साथै २४ जना प्रज्ञसभा सदस्य पनि नियुक्त भएका छन् ।

मन्त्रालयले नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको कुलपतिमा रंगकर्मी निशा शर्मा नियुक्त भएकी छन् भने उपकुलपतिमा गायक शम्भु राईलाई नियुक्त गरिएको छ । त्यस्तै, सदस्य सचिवमा कुस्मा महरालाई नियुक्त गरिएको छ ।

प्राज्ञहरूमा कर्णबहादुर गौतम, बखतबहादुर हमाल, डक्टर राई, हिसनबहादुर मगर, टीका पुन, चेतन सापकोटा नियुक्त भएका छन् । साथै २४ जना प्राज्ञसभा सदस्य पनि नियुक्त भएका छन् ।

कुलपतिहरूको शपथ बिहीबार हुने मन्त्रालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...