‘संगीतकार गुरुदेव कामतलाई राज्यले चिनेन’
काठमाडौँ, २६ साउन । शास्त्रीय संगीतकार गुरुदेव कामतको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । शनिबार जमलस्थित नाचघरमा उक्त शोक सभा सम्पन्न भएको हो ।
सभामा कलाकार मदनदास श्रेष्ठले राजनीतिक दलको झन्डा बोक्नेले मात्र अवसर पाउने तर देशको लागि सोच्ने, योगदान दिने व्यक्तिको निधनले मर्माहत बनाएको बताउनुभयो । उहाँले देशमा गीत, संगीतलाई जोगाउने सर्जकहरुलाई सहयोग र उनीहरुको विकासका लागि राज्यले धेरै संस्थाहरु खोले पनि काम नभएकोप्रति दुःख व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो देशमा गीत, संगीतलाई जोगाइराखेका सर्जकहरुलाई सहयोग र उनीहरुको विकासको लागि राज्यले धेरै संस्थाहरु खोलिएका छन् तर काम भएको छैन । सबै सर्जकहरुले कुनै न कुनै राजनीतिक दलको झन्डा बोक्नुपर्ने र त्यस्ताले मात्र अवसर पाउने अवस्था छ । देशका लागि सोच्ने, योगदान दिने व्यक्तिको निधनले दुःखित बनाएको छ ।’
राज्य र सरकारले यस्तो सर्जकहरुको लागि सोचेको भए कामतले अझै देशको लागि धेरै योगदान दिनसक्ने पनि उहाँको भनाइ छ ।
कामतको बिहीबार बिहान निजी निवास सिरहामा निधन भएको हो । ६९ वर्षीय संगीतकार कामत लामो समयदेखि मिर्गौला पीडित थिए । मिर्गौलाको उपचार गराइरहेका उनी आर्थिक समस्या भएपछि एक महिना अगाडि काठमाडौँबाट सिरहा घरमा पुगेका थिए ।
नेपाली गीत संगीत क्षेत्रमा ४० वर्षसम्म निरन्तर योगदान गरेका कामतको जन्म २०१२ साल साउन १७ गते सिरहामा भएको थियो ।