काठमाडौँ, २ फागुन । भारतको राजधानी नयाँ दिल्ली र मुम्बइमा रहेका ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी)का कार्यालयमा मंगलबार दिउँसो भारतीय सरकारी अधिकारीले खानतलासी गरेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार भारतको आयकर विभागका कर्मचारीहरूले एकैसाथ बिबिसीका दुई कार्यालयमा खानतलासी गरेका हुन् ।
खानतलासीको क्रममा केही पत्रकारहरूको मोबाइल पनि जफत गरिएको एनडिटिभीले जनाएको छ ।
हाल उक्त कार्यालयमा कार्यरत सञ्चारकर्मीको फोन जफत गरिएको र कार्यालय परिसरमा आवतजावतलाई निषेध गरिएको रिपोर्टमा उल्लेख छ । आयकर विभाग स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार बिबिसीले कर छली गरेको आरोपमा उक्त छापा मारिएको हो ।
हालैमात्र बिबिसीले भारतीय प्रधानमन्त्री नदेन्द्र मोदीको सन् २००२ गुजरात प्रकरणमा खेलेको भूमिकाबारे ‘द मोदी क्वेसन’ नाममा डकुमेन्ट्री सार्वजनिक गरेको थियो । उक्त वृत्तचित्रमा मोदी गुजरातका मुख्यमन्त्री हुँदा भएको हिन्दु–मुस्लिम दंगामा उनको भूमिकाबारे पनि देखाइएको छ ।
उक्त वृत्तचित्रले मोदीविरूद्ध प्रोपोगन्डा फैलाउन नियोजित षड्यन्त्र गरेको भन्दै भारत सरकारले सो सामग्रीमाथि प्रतिबन्ध लगाएको थियो ।