टर्की भूकम्पमा परी ३६ हजारभन्दा बढीको मृत्यु

27

एजेन्सी, २ फागुन । टर्की र सिरियाको सीमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी हालसम्म ३६ हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् ।

टर्कीको कहरामनमारसलाई केन्द्रबिन्दु बनाएर ७.८ म्याग्च्यिुडको भूकम्प र त्यसको केही क्षणपछिको भएको त्यति नै शक्तिशाली परकम्पबाट टर्कीका १० वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ । छिमेकी सिरियामा पनि जनधनको व्यापक क्षति भएको छ ।

भूकम्पले भत्काएको भवनको भग्नावशेषबाट जीवितै उद्धार गर्न टर्कीमा उद्धारकर्मी अझै संघर्ष गरिरहेका छन् भने भूकम्पको १७५ घन्टापछि एक जनालाई जीवितै उद्धार गरिएको छ ।

टर्की सरकारले गुणस्तरहीन भवन बनाएको अभियोगमा कैयौँ निर्माण व्यवसायीलाई पक्राउ गरेको छ । अदाना सहरका अभियोजकले भत्केका भवनका सम्बन्धमा अनुसन्धान गर्न ६२ जनालाई हिरासतमा राख्न आदेश दिएका छन् ।

विद्रोहीको पकड रहेको उत्तरपश्चिमी सिरियामा उद्धारका काम समाप्त भएको जनाउँदै स्वयंसेवी संस्थाहरूले लामो गृहयुद्धका कारण त्यहाँ राहतका कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएको बताएका छन् ।

सिरिया सरकारले विद्रोही नियन्त्रित क्षेत्रमा राहतका कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको छ । सिरियामा सोमबारदेखि राष्ट्रिय शोकको घोषणा गर्दै ती स्वयंसेवी संस्थाहरूले देशको राष्ट्रिय झन्डा आधा झुकाएका छन् ।

दुवै देशका भूकम्प पीडित आंशिकरूपमा क्षतिग्रस्त भएका आफ्ना घरमा फर्कन डराइरहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...