काठमाडौँ, २६ माघ । नेपाली राष्ट्रिय यू–२० महिला टोलीले साफ यू–२० च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँ हार ब्यहोरेको छ । बंगलादेशले तेस्रो पटक च्याम्पियन बन्ने क्रममा नेपाललाई ३–० गोल अन्तरले पराजित गर्यो ।
बिहीबार ढाकास्थित वीर सहिद मुस्ताफा कमल स्टेडियममा भएको फाइनलमा घरेलु टोली बंगलादेश ३–०ले पराजित भएको हो ।
खेलको पहिलो हाफमा २–० ले पछि परेको नेपालले दोस्रो हाफमा पुनरागमन गर्न सकेन । हजारौँको संख्यामा रंगशाला आएका घरेलु समर्थकमाझ बंगलादेशले उत्कृष्ट प्रदर्शन गर्यो । लिग चरणमा भारतमाथि पुनरागमन जित हासिल गरेको नेपालले फाइनलमा भने त्यसलाई दोहोर्याउन सकेन ।
नेपाल दोस्रो पटक उपविजेता बनेको हो । सन् २०१८ मा भएको पहिलो संस्करणमा पनि नेपाल बंगलादेशसँग पराजित हुँदै उपविजेता बनेको थियो ।
खेलको ४२औँ मिनेटमा बंगलादेशकी सहिदा अख्तर रिपाको गोलमा नेपाल १–०ले पछि परेको थियो ।
पहिलो हाफको इन्जुरी समयमा बंगलादेशकी कप्तान सम्सुनाहार जुनियरले किपर बिट भएको अवस्थाको फाइदा उठाउँदै अग्रता दोब्बर पारिन् । खेलको ८७औँ मिनेटमा बंगलादेशकी उन्नती खातुनले गोल गर्दै नेपालसँगको अग्रता फराकिलो पारिन् ।
फाइनलमा नेपालले पनि गोल गर्ने तीन राम्रा अवसर गुमाएको थियो । घरेलु दर्शक र मैदानको साथ पाएको बंगलादेशले भने उत्कृष्ट लय कायम राख्दै तेस्रो पटक च्याम्पियन बनेको हो । बंगलादेशले यसअघि २०१८ र २०२१ मा उपाधि जितेको थियो ।