भोजपुर, २५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन शासकहरूका विरूद्ध क्रान्तियोद्धा योगमाया न्यौपानेको नेतृत्वमा अरूण नदीमा गरिएको जलसमाधि विश्वका लागि नौलो र साहसिक विद्रोह रहेको बताएकी छन् ।
बुधबार भोजपुरको साल्पासिलिछो–१ गौडेनीमा आयोजना गरिएको योगमायाको प्रतिमा अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । “तत्कालीन शासकहरूका विरूद्ध योगमायाले गरेको विद्रोह विश्वका लागि नौलो छ,” उनले भनिन्, “यो पुण्यभूमिलाई धार्मिक एवम् पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न आवश्यक छ ।”
सतिप्रयाविरूद्ध योगमायाले अतुलनीय योगदान पुर्याएको उनको भनाइ छ । योगमाया र षडानन्दको योगदान रहेको यहाँका क्षेत्रको विकासमा ध्यान दिनुपर्ने राष्ट्रपति भण्डारीले बताइन् ।
राष्ट्रपति भण्डारीको उपस्थितिमा षडानन्द नगरपालिका–१ मझुवाबेँसीमा रहेको योगमायाको समाधिस्थल पार्कको प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिलान्यास गरे ।