उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि बस्ने

78

काठमाडौँ, २५ माघ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि बस्ने भएको छ । बुधबार बिहान प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलले संयन्त्रको बैठक बस्ने निर्णय गरेको हो ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकसमेत रहेको ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड आज बिहान ओली निवास बालकोट गएका थिए । सोही भेटवार्तामा बिहीबार राजनीतिक संयन्त्रको बैठक बोलाउने र राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्ने प्रधानमन्त्री प्रचण्डले बताए ।

बालकोटबाट बाहिरिने क्रममा प्रचण्डले भने, “सहज ढंगले कसरी अघि बढ्ने भन्नेबारे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा छलफल गर्छौँ, राष्ट्रपतिको उम्मेदवारबारे पनि छलफल हुन्छ ।”

गठबन्धनमा अविश्वासको वातावरण बढ्दै गएपछि दुई नेताको भेटघाट बाक्लिन थालेको छ ।

आगामी २८ फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल पूरा हुन लाग्दा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ । आगामी फागुन २५ मा राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ । सोही निर्वाचनलाई लिएर राजनीति गर्माउन थालेको छ ।

एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने अडान राख्दै आए पनि प्रधानमन्त्री प्रचण्ड सहमत छैनन् । यही मतभेदका काराण सत्ता साझेदार दलबीच खटपट भइरहेका बेला प्रधानमन्त्री प्रचण्डले आज ओलीसँग भेटवार्ता गरेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...