राष्ट्रियसभा उपनिर्वाचन : घोराहीमा मतदान जारी
काठमाडौँ, २५ माघ । लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मतदान जारी छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान साढे १० बजेतिर मतदान सुरू भएको हो । मतदान दिउँसो ३ बजेसम्म चल्ने छ ।
मतदान सकिएको केही घन्टामै मतगणना सकिने प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।
सत्तारूढ दल नेकपा (एमाले), नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन् ।
जसअनुसार एमालेका तर्फबाट कुमार दसौदी र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय तथा प्रमुख प्रतिपक्षी कांग्रेसबाट माधवप्रसाद आचार्यको उम्मेदवारी छ ।
प्रदेशसभा सदस्य एक जनाको मतभार ४८ र स्थानीय तह प्रमुख उपप्रमुखमध्ये हरेकको मतभार १८ हुने गर्छ । लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३०५ जना रहेका छन् । जसमध्ये प्रदेश सांसदको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ जना रहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख भण्डारीले जानकारी दिए ।
लुम्बिनी प्रदेशमा १०८ पालिका रहेका छन् । तीमध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ । एमालेले २७, माओवादीले २५, जनता समाजवादी पार्टी (जसपा)ले ३, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले २–२ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता प्रगतिशीलले एक–एक स्थानमा जितेका छन् ।
८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, नेकपा (माओवादी केन्द्र)ले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४–४, जसपा, लोसपा र जनमतले ३–३, जनमोर्चा र नेकपा (एकीकृत समाजवादी)ले १–१ सिट जितेका छन् ।
स्वतन्त्रबाट भने २ जनाले जितेका छन् । स्वतन्त्रबाट ३ जनाले जिते पनि निर्वाचित भइसकेपछि एक जना स्वतन्त्र निर्वाचित व्यक्ति माओवादी केन्द्रमै फर्किएका छन् ।